Text copied!
CopyCompare
पवित्र बाइबल - व्यवस्था

व्यवस्था 8

Help us?
Click on verse(s) to share them!
1आज मैले तिमीहरूलाई दिने सबै आज्ञा मान्‍नू ताकि तिमीहरू बाँच्न सक र वृद्धि हुन सक अनि परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको देशमा गएर त्यसलाई अधिकार गर्न सक ।
2तिमीहरूलाई विनम्र पार्न र तिमीहरूले उहाँका आज्ञाहरू मान्छौ कि मान्दैनौ भनेर तिमीहरूका ह्रदयमा भएको कुरा जाँच गर्न परमप्रभु तिमीहरूका परमेश्‍वरले यी चालिस वर्षसम्म तिनीहरूलाई उजाड-स्थानमा डोर्‍याउनुभएका उहाँका सबै मार्गलाई सम्झनू ।
3उहाँले तिमीहरूलाई विनम्र तुल्याउनुभयो; भोकले पीडित तुल्याउनुभयो र मन्‍न खुवाउनुभयो जसलाई तिमीहरूले चिनेका थिएनौ न त तिमीहरूका पिता-पुर्खाहरले चिनेका थिए । मानिस रोटीले मात्र नभई परमप्रभुको मुखबाट निस्केको हरेक कुराले बाँच्दछ भनी तिमीहरूलाई बुझाउन उहाँले यसो गर्नुभयो ।
4ती चालिस वर्षसम्म तिमीहरूका लुगा च्यातिएर झरेन न त तिमीहरूको गोडा सुन्‍नियो ।
5बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्‍नू ।
6उहाँका मार्गहरूमा हिँडी उहाँलाई आदर गर्न सकून् भनेर तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आज्ञा मान्‍नू ।
7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।
8यो गहुँ र जौ अनि दाख र जैतून अनि अनार र जैतून रुखहरूसाथै मह पाउने देश हो ।
9यो त्यही देश हो जहाँ तिमीहरूलाई अन्‍नको अभाव हुने छैन र त्यहाँ कुनै थोकको कमी हुने छैन । यस देशका ढुङ्गाहरू फलामका छन् र त्यहाँका पहाडहरूबाट तिमीहरूले तामा निकाल्ने छौ ।
10तिमीहरू खाएर अघाउने छौ, अनि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको असल देशको लागि तिमीहरूले उहाँलाई धन्यको भन्‍ने छौ ।
11आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल्न होसियार होओ ।
12नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ ।
13तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा
14तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।
15उहाँलाई नबिर्स जसले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको पानी नपाइने विशाल र डरलाग्दो उजाड-स्थानबाट ल्याउनुभयो, जसले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो ।
16तिमीहरूलाई नम्र बनाउन र तिमीहरूको जाँच गरी अन्त्यमा तिमीहरूको भलाइ गर्न उहाँले तिमीहरूलाई उजाड-स्थानमा तिमीहरूका पिता-पुर्खाहरूले कहिल्यै नजानेका मन्‍न खुवाउनुभयो ।
17तर तिमीले ह्रदयमा सोचौला, 'मेरो शक्ति र मेरो शक्तिशाली हातले मैले यी सबै सम्पत्ति थुपारेको हुँ ।'
18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद गर्नू किनकि उहाँले नै तिमीहरूलाई सम्पत्ति थुपार्ने शक्ति दिनुहुन्छ । उहाँले नै तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करार स्थापित गर्नुहुन्छ जुन आजको दिनसम्म छ ।

19तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु ।
20परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।