Text copied!
CopyCompare
पवित्र बाइबल - व्यवस्था

व्यवस्था 17

Help us?
Click on verse(s) to share them!
1तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्‍वरको लागि घृणित कुरो हुने छ ।
2परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गर्‍यो भने वा उहाँको करार भङ्ग गर्‍यो भने वा
3मैले आज्ञा नगरेको अन्य देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यो भने वा सूर्य, चन्द्रमा वा कुनै पनि आकाशीय पिण्डलाई ढोग्यो भने,
4र यस बारेमा तिमीहरूलाई बताइयो भने वा तिमीहरूले यस बारेमा सुन्यौ भने तिमीहरूले होसियारीसाथ अनुसन्धान गर्नू । इस्राएलमा त्यस्तो घृणित कुरो गरिएको साँचो र निश्‍चित ठहरियो भने तिमीहरूले गर्नुपर्ने कुरो यही हो ।
5यस्तो दुष्‍ट काम गर्ने त्यो पुरुष वा स्‍त्रीलाई तिमीहरूले सहरको प्रवेशद्वारमा ल्याएर हरेक पुरुष, स्‍त्री र तिमीहरूले ढुङ्गाले हानेर मार्नू ।
6दुई वा तिन जना साक्षीको आधारमा त्यसलाई मारिने छ । तर एक जना मात्र साक्षीको आधारमा त्यसलाई मारिनुहुँदैन । तिनीहरूलाई मार्न
7ती साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि अरू सबै मानिसले आ-आफ्ना हात उठाऊन् । यसरी तिमीहरूले आफ्ना बिचबाट दुष्‍टतालाई हटाउने छौ ।
8हत्या वा दुर्घटनाबाट भएको मृत्यु वा एउटा वा अर्को व्यक्तिको अधिकार वा एउटा किसिमको हानि वा अर्को किसिमको विषय वा तिमीहरूका बिचमा भएका कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा जानू ।
9तिमीहरू लेवीका सन्तानहरू अर्थात् त्यस बेला न्यायको लागि सेवा गर्ने पुजारीहरूकहाँ जानू । तिनीहरूका सल्लाह लिनू र तिनीहरूले निर्णय सुनाउने छन् ।
10परमप्रभुले आफ्नो पवित्र वासस्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिमीहरूलाई दिइएको व्यवस्थालाई तिमीहरूले मान्‍नू ।
11तिनीहरूले गर्न भनी तिमीहरूलाई निर्देशन दिने हरेक कुरो मान्‍न तिमीहरू होसियार होओ । तिनीहरूले सिकाउने नियमलाई पछ्याउनू, र तिनीहरूले दिएको निर्णयअनुसार गर्नू । तिनीहरूले बताउने कुराबाट दायाँ वा बायाँतिर नतर्कनू ।
12परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।
13सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् ।
14तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा आइपुगेर यसको अधिकार गरेपछि र यसमा बसोबास गर्न थालेपछि तिमीहरूले 'हाम्रा वरिपरि भएका सबै जातिले जस्तै हाम्रो शासन गर्न राजा चुन्‍ने छौँ' भन्यौ भने
15परमप्रभु तिमीहरूका परमेश्‍वरले चुन्‍नुहुने व्यक्तिलाई तिमीहरूले निश्‍चय नै राजाको रूपमा चुन्‍नू । तिमीहरूका दाजुभाइका बिचबाट नै तिमीहरूले आफ्ना लागि राजा चुन्‍नू । कुनै पनि परदेशीलाई आफ्नो राजा नबनाओ ।
16तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ ।
17तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।
18तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् ।

19त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् ।
20तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।