Text copied!
CopyCompare
पवित्र बाइबल - योएल

योएल 2

Help us?
Click on verse(s) to share them!
1सियोनमा तुरही फुक, र मेरो पवित्र पर्वतमा चेतावनी ध्वनि बजाओ! देशका सबै बासिन्दाहरू डरले थरथर होऊन्, किनकि परमप्रभुको दिन आउँदैछ, वास्तवमा, त्यो नजिकै छ ।
2यो अन्धकार र उदासको दिन हो, बादलहरू र बाक्‍लो अन्धकारको दिन हो । जसरी पर्वतहरूमा झिसमिसे बिहानी फैलिन्‍छ, त्‍यसरी नै एउटा ठुलो र शक्तिशाली सेना नजिक आउँदैछ । त्‍यस्‍तो सेना पहिले कहिल्यै थिएन, अनि पुस्तौं-पुस्ता पछिसम्म पनि, त्‍यहाँ त्‍यस्‍तो फेरि कहिल्यै हुनेछैन ।
3त्यसको अगाडिका सबै कुरालाई आगोले भष्‍म पार्दैछ, र त्यसको पछाडि आगोको ज्वाला बलिरहेको छ । त्यसको अगाडिको देश अदनको बगैंचाजस्‍तो छ, तर त्यसको पछाडि एउटा नाश भएको उजाड-स्‍थान छ । त्यसबाट कुनै कुरा फुत्‍कनेछैन ।
4त्‍यो सेना घोडाहरूझैं देखा पर्छ, र तिनीहरू घोडचढीहरूझैं दौडन्‍छन् ।
5पर्वतहरूका टाकुराहरूमा रथहरूले गरेझैं, झिंजाहरू भस्‍म पार्ने भयङ्कर ज्वालाको आवाजझैं, युद्धको निम्ति तयार भएको शक्तिशाली सेनाझैं, आवाज गरेर तिनीहरू उफ्रन्‍छन् ।
6तिनीहरूको उपस्थितिले मानिसहरू वेदनामा पर्छन्, अनि तिनीहरूका सम्‍पूर्ण अनुहार पहेंलो हुन्छ ।
7शक्तिशाली लडाकुहरूझैं तिनीहरू दौडन्‍छन्, सेनाहरूझैं तिनीहरू पर्खालहरूमा चढ्‍छन्, तिनीहरू हरेक व्‍यक्‍ति पङ्तिवद्ध भएर हिंड्‍छन्, र आफ्नो पङ्तिलाई बिगार्दैनन् ।
8न त एउटाले अर्कालाई धक्‍का दिन्छन् । तिनीहरू प्रत्‍येक नै आ-आफ्नै बाटोमा हिंड्छन् । तिनीहरू सुरक्षाबलहरूलाई तोड्‍दै अघि बढ्छन्, र आफ्नो लाइनभन्‍दा बाहिर पुग्दैनन् ।
9तिनीहरूले सहरलाई आक्रमण गर्छन्, तिनीहरू पर्खालमा दौडन्‍छन्, तिनीहरू घरहरूमाथि चढ्छन्, र चोरहरूझैं तिनीहरू झ्यालहरूबाट भित्र जान्‍छन् ।
10तिनीहरूको अगि पृथ्वी काम्छ, आकाश थरथर हुन्‍छ, सूर्य र चन्द्रमा अँध्यारो हुन्छन्, अनि ताराहरू चम्कन छोड्‍छन् ।
11परमप्रभुले आफ्‍नो सेनाको सामु ठुलो सोरले कराउनुहुन्छ, किनकि उहाँका योद्धाहरू असङ्ख्‍य छन्, किनकि उहाँका आज्ञा पालन गर्नेहरू, ती बलिया छन् । किनकि परमप्रभुको दिन महान् र अत्यन्तै भयानक हुन्‍छ । त्‍यसबाट को बाँच्‍न सक्छ र?
12परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
13आफ्ना लुगामात्र होइन तर आफ्ना हृदय पनि धुजाधुजा पार, र परमप्रभु आफ्‍ना परमेश्‍वरकाहाँ फर्क । किनकि उहाँ अनुग्रही र कृपापूर्ण, रिसाउनमा ढिला र करारको विश्‍वसततामा प्रशस्‍त हुनुहुन्छ, र दण्डको पिडा दिनबाट उहाँ पर्कन चाहनुहुन्‍न ।
14कसले जान्दछ? सायद उहाँ पर्कनुहुन्छ, र दया देखाउनुहुन्छ, र आफ्‍नो पछि आशिष् छोड्‍नुहुन्‍छ, तिमीहरूका परमप्रभु परमेश्‍वरका निम्ति अन्‍नबलि र अर्घबलि दिनुहुन्छ कि?
15सियोनमा तुरही फुक, पवित्र उपवासको आव्‍हान गर, र पवित्र सभा बोलाओ ।
16मानिसहरूलाई भेला गराओ, पवित्र सभा बोलाओ । धर्मगुरुहरूलाई भेला गर, बालबालिका र दूधे बालकहरूलाई भेला गराओ । दुलहाहरू आफ्ना कोठाहरूबाट बाहिर आऊन्, अनि दुलहीहरू आफ्ना सृङ्गारका कोठाहरूबाट बाहिर आऊन् ।
17पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”
18आफ्नो देशको निम्‍ति परमप्रभु डाही हुनुभयो र आफ्ना मानिसहरूलाई दया देखाउनुभयो ।

19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।
20उत्तरबाट आक्रमण गर्नेहरूलाई म तिमीहरूबाट टाढा हटाइदिनेछु, र तिनीहरूलाई एउटा सुक्‍खा र त्‍यागिएको देशमा लखेटिदिनेछु । तिनीहरूको सेनाको अग्रपङ्क्ति पूर्वीय समुद्रमा, अनि पछिल्लो पङ्क्तिचाहिं पश्‍चिमी समुद्रमा जानेछ । त्यसको दुर्गन्ध माथि उठ्नेछ, त्यसको सडेको दुर्गन्ध माथि उठ्नेछ ।” निश्‍चय नै उहाँले महान् काम गर्नुभएको छ ।
21ए देश, नडरा, रमाहट गर र आनन्दित हो, किनकि परमप्रभुले महान् काम गर्नुहुनेछ ।
22ए मैदानका पशुहरू हो, नडराओ, किनकि उजाड-स्‍थानका खर्कहरूमा पलाउनेछन्, र बोटहरूले आफ्‍ना फलहरू दिनेछन्, र नेभाराका बोटहरू र दाखका बोटहरूले आ-आफ्ना फसल पुरा रूपमा दिनेछन् ।
23ए सियोनका मानिस हो, खुशी होओ, आफ्‍ना परमप्रभु परमेश्‍वरमा आनन्दित होओ । किनकि उहाँले ठिक समयमा चाँडै शरदको वर्षा दिनुहुनेछ, र तिमीहरूका निम्ति झरी पार्नुहुनेछ, पहिलेझैं नै शरद् र बसन्तका दुवै झरी हुनेछन् ।
24खलाहरू गहुँले भरिनेछन्, र घ्‍याम्‍पोहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन् ।
25“बथानमा हिंड्ने सलहले— ठुला सलह, सखाप पार्ने सलह र नाश गर्ने सलहले — मैले तिमीहरूका बिचमा पठाएको मेरो शक्तिशाली सेनाले, वर्षौंदेखि खाएको बालीको म तिमीहरूलाई क्षतिपुर्ति दिनेछु ।
26तिमीहरू प्रशस्‍त गरी खानेछौ र भरपेट हुनेछौ, र आफ्‍ना परमप्रभु परमेश्‍वरको नाउँको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका बिचमा अचम्‍मका काम गर्नुएको छ, र म कहिल्यै आफ्‍ना मानिसहरूमा जाल ल्याउनेछैनँ ।
27म इस्राएलको बिचमा छु भनी तिमीहरूले जान्‍नेछौ, र म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र त्यहाँ अर्को कोही पनि छैन, र म कहिल्यै आफ्‍ना मानिसहरूमा लाज ल्याउनेछैनँ ।
28केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।
29साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।
30आकाश र पृथ्वीमा अचम्‍मका कामहरू, रगत, आगो, र धूँवाका मुस्लाहरू म देखाउनेछु ।
31परमप्रभुको त्यो महान् र भयानक दिन आउनुअघि, सूर्य अन्धकारमा अनि चन्द्रमा रगतमा परिवर्तन हुनेछ ।
32परमप्रभुको नाउँ पुकार्ने हरेक व्‍यक्‍ति बचाइनेछ । किनकि जस्‍तो परमप्रभुले भन्‍नुभएको छ, सियोन पर्वतमा र यरूशलेममा छुटकारा पाएका मानिसहरू हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ ।