32त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।”
33जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।
34उहाँले भन्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
35येशू रुनुभयो ।
36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !”
37तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र ?”
38त्यसपछि फेरि येशू आत्मामा आफैँ अति विचलित हुनुभयो, र चिहानतिर जानुभयो । यो एउटा गुफा थियो र यसलाई एउटा ढुङ्गाले ढाकेको थियो ।
39येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ ।” लाजरस जो मरेका थिए, तिनकी दिदी मार्थाले येशूलाई भनिन्, “प्रभु, अहिलेसम्म त शरीर कुहिसकेको हुनेछ, किनकि तिनी मरेको चार दिन भइसक्यो ।”
40येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनिनँ, कि यदि तिमीले विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ ?”
41त्यसैले, तिनीहरूले ढुङ्गा हटाए । येशूले आफ्ना आँखा माथितिर उठाउनुभयो, र भन्नुभयो, “हे पिता, मेरो बिन्ती सुन्नुभएकोमा म तपाईंलाई धन्यवाद दिन्छु ।
42म जान्दथेँ, तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर मेरो वरिपरि उभिरहेका यो भिडको कारण मैले यो भनेँ, ताकि तपाईंले मलाई पठाउनुभएको छ भन्ने तिनीहरूले विश्वास गर्न सकून् ।”
43उहाँले यी कुराहरू भन्नुभएपछि उहाँले ठुलो सोरमा भन्नुभयो, “लाजरस, बाहिर आऊ !”
44मरेको मानिस बाहिर आयो, त्यसका हात र खुट्टाहरू कपडाले बाँधिएका थिए; त्यसको अनुहार कपडाले बेह्रिएको थियो । येशूले तिनीहरूलाई भन्नुभयो, “त्यसलाई खोलिदेओ, र त्यसलाई जान देओ ।”
45त्यसपछि मरियमकहाँ आएका र येशूले जे गर्नुभयो सो दखेका धेरै यहूदीहरूले उहाँमा विश्वास गरे ।
46तर तिनीहरूमध्ये केही फरिसीहरूकहाँ गए र येशूले गर्नुभएका ती कुराहरू तिनीहरूलाई बताइदिए ।
47त्यसपछि मुख्य पुजारीहरू र फरिसीहरूले परिषद्का सदस्यहरूलाई भेला पारे, र भने, “हामीले के गर्ने ? यस मानिसले धेरै चिह्नहरू गर्छन् ।
48यदि हामीले यसलाई यसरी नै छोडिदियौँ भने सबैले यसलाई विश्वास गर्नेछन्; रोमीहरू आउनेछन् अनि हाम्रो ठाउँ र हाम्रो जाति दुवै लिनेछन् ।”
49तैपनि तिनीहरूमध्ये कैयाफा नामका मानिस जो त्यस वर्ष प्रधान पुजारी थिए तिनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्दैनौ ।
50सम्पूर्ण राष्ट्र नै नष्ट हुनुभन्दा मानिसहरूका निम्ति एक जना मर्नु नै तिमीहरूका निम्ति उत्तम हो भन्ने तिमीहरू ठान्दैनौ ।”
51अब यो तिनले आफ्नै तर्फबाट भनेका थिएनन् । बरु उनी त्यस वर्षका प्रधान पुजारी भएको कारणले येशू राष्ट्रको निम्ति मर्नुपर्छ भनी तिनले अगमवाणी गरेका थिए ।
52राष्ट्रको निम्ति मात्र होइन, तर छरपष्ट भएका परमेश्वरका सन्तानहरूसँगै एक होऊन् भनेर पनि हो ।
53त्यसैले, त्यस दिनदेखि उनीहरूले येशूलाई कसरी मार्ने भनी योजना बनाउन थाले ।
54येशू यहूदीहरू माझ खुलमखुला हिँड्डुल गर्नुभएन, तर उहाँ त्यहाँबाट उजाड-स्थान नजिकैको गाउँमा रहेको एफ्राइम भनिने सहरमा जानुभयो । त्यहाँ उहाँ चेलाहरूसँग बस्नुभयो ।
55अब यहूदीहरूको निस्तार-चाड नजिकै थियो र धेरै जना आफैँलाई शुद्ध पार्न गाउँहरूबाट निस्तार-चाड अगि नै यरूशलेम गए ।