Text copied!
CopyCompare
पवित्र बाइबल - २ कोरिन्थी

२ कोरिन्थी 3

Help us?
Click on verse(s) to share them!
1के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र ?
2तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।
3र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।
4र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो ।
5कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।
6परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
7अब ढुङ्गामा कुँदिएको मृत्यु ल्याउने अक्षर यस्तो महिमासँग इस्राएलीहरूको बिचमा आयो कि इस्राएलीहरूले मोशाको अनुहार सिधै हेर्न सकेनन् । यो उनको अनुहारको महिमाको कारणले गर्दा हो, जुन महिमा मन्द हुँदै थियो ।
8पवित्र आत्माको काम झन् कति धेरै महिमित होला ?
9यदि निन्दापूर्ण सेवाको महिमा थियो भने धार्मिकताको सेवा अझ कति धेरै महिमित हुन्छ !
10किनकि वास्तवमा जुन एक समय महिमित पारिएको थियो, यसलाई माथ गर्ने अर्को महिमाको कारण अहिले त्यो महिमित छैन ।
11यदि बितेर जानेको कुराको महिमा थियो भने सधैँको लागि रहने कुराको झन् कति धेरै महिमा हुनेछ !
12हामीसँग यस्तो आशा भएको कारण हामी साहसी छौँ ।
13हराउँदै गरेको महिमाको अन्त्य इस्राएलीहरूले सिधै देख्‍न नसकून् भनेर हामी आफ्नो अनुहारमा घुम्टो लगाउने मोशाजस्ता छैनौँ ।
14तर तिनीहरूका मन कठोर पारिएका थिए । पुरानो करार पढ्दा आजको दिनसम्म पनि त्यो घुम्टो रहिरहन्छ । त्यो खोलिएको छैन, किनकि ख्रीष्‍टमा मात्र यो खोलिन्छ ।
15तर आज पनि जब मोशाको बारेमा पढिन्छ, तिनीहरूको हृदयमा घुम्टो रहन्छ ।
16तर जब कोही व्यक्‍ति परमप्रभुमा फर्किन्छ, तब घुम्टो हटाइन्छ ।
17परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ ।
18अब हामी सबै घुम्टो हटाइएको अनुहारले परमप्रभुको महिमालाई हेर्छौं । हामी एक महिमादेखि अर्को महिमामा उक्लँदै त्यही महिमामा बद्‌लिँदै छौँ । यो परमप्रभुबाट आउँछ, जो आत्मा हुनुहुन्छ ।