Text copied!
CopyCompare
पवित्र बाइबल - २ कोरिन्थी

२ कोरिन्थी 11

Help us?
Click on verse(s) to share them!
1मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्‍ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ !
2किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्‍वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्‍टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
3तर सर्पले हव्वालाई आफ्नो धूर्तताद्वारा झुक्याए जस्तै गरी ख्रीष्‍टप्रति भएको तिमीहरूको निष्कपट र शुद्ध आराधनाबाट तिमीहरूका विचार टाढा लगिन्छ कि भनेर मलाई डर लागेको छ ।
4किनकि मानौँ, यदि कोही आएर हामीले प्रचार गरेको येशूभन्दा अर्को येशू छ भनेर प्रचार गर्छ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको आत्माभन्दा छुट्टै आत्मा प्राप्‍त गर्‍यौ, अथवा मानौँ, तिमीहरूले प्राप्‍त गरेको सुसमाचारभन्दा फरक सुसमाचार तिमीहरूले ग्रहण गर्‍यौ भने तिमीहरूले यी कुराहरूलाई राम्ररी सहने गर्‍यौ !
5किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
6तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।
7के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।
8तिमीहरूलाई सेवा दिन सकूँ भनेर मैले अरू मण्डलीबाट सहयोग स्वीकार गरेर तिनीहरूलाई लुटेँ ।
9तिमीहरूको साथमा हुँदा म खाँचोमा थिएँ, म कसैको बोझ भइनँ । किनकि माकेडोनियबाट आएका भाइहरूबाट मेरा खाँचोहरू पुरा भए । सबै कुरामा मैले आफैँलाई तिमीहरूको बोझ बन्‍नबाट टाढा राखेँ, र म यो कुरालाई निरन्तरता दिनेछु ।
10ख्रीष्‍टको सत्यता मभित्र भएको हुनाले अखैयामा मेरो गर्व रोकिनेछैन ।
11किन ? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र ? परमेश्‍वर जान्‍नुहुन्छ ।
12तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।
13किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् ।
14र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ ।
15यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।
17मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।
18धेरै मानिस शरीरअनुसार घमण्ड गर्दछन्, म पनि घमण्ड गर्नेछु ।

19किनकि तिमीहरू खुसीसाथ मूर्खहरूको सहन गर्छौं । तिमीहरू आफैँ बुद्धिमानी छौ !
20किनकि तिमीहरू त्यसलाई सहन्छौ जसले तिमीहरूलाई दास बनाउँछ; बर्बाद गर्छ; तिमीहरूबाट फाइदा उठाउँछ; आफूलाई तिमीहरूभन्दा असल ठान्छ र तिमीहरूलाई थप्पड पनि लाउँछ ।
21म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्‍ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
22के तिनीहरू हिब्रूहरू हुन् ? म पनि हुँ । के तिनीहरू इस्राएली हुन् ? म पनि इस्राएली हुँ । के तिनीहरू अब्राहामका सन्तान हुन् ? म पनि हुँ ।
23के तिनीहरू ख्रीष्‍टका सेवकहरू हुन् ? (म पागल भएको जस्तै गरी बोल्छु ।) म अझै बढ्ता हुँ । मैले अझ धेरै परिश्रम गरेको छु; अझ धेरै झ्यालखानामा बसेको छु; मापन गर्न नै नसकिने गरी कुटाइ खाएको छु; मृत्युका धेरै खतराहरूको सामना गरेको छु ।
24यहूदीहरूबाट मैले पाँच पल्ट “एक कम चालिस कोर्रा खाएको छु ।”
25मलाई तिन पल्ट लौराले पिटियो । एक पल्ट मलाई ढुङ्गाले हानियो । तिन पल्ट म पानी जहाज दुर्घटनामा परेँ । मैले एक दिन र एक रात खुला समुद्रमा बिताएको छु ।
26नदीहरूका खतरामा, डाँकुहरूका खतरामा, मेरा आफ्नै मानिसहरूका खतरामा, अन्यजातिहरूका खतरामा, सहर भित्रका खतरामा, उजाड-स्थानहरूका खतरामा, समुद्रका खतरामा, झुटा भाइहरूका खतरामा मैले बारम्बार यात्राहरू गरेको छु ।
27धेरै अनिदोका रातहरूमा, भोक र तिर्खामा, प्राय उपवासमा, नाङ्गोपन र जाडोमा म कडा परिश्रम र कठिनाइमा परेको छु ।
28यी कुराहरूबाहेक सबै मण्डलीको फिक्रीको बोझ पनि ममाथि छ ।
29को कमजोर छ, र म कमजोर छैनँ ? कसले ठक्‍कर खाएको छ र मचाहिँ थकित हुन्‍नँ ?
30यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।
31प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन !
32दमस्कसका राजा अरितसको मातहतमा रहेका हाकिमले मलाई गिरफ्तार गर्नको निम्ति सहरलाई पहरा दिइरहेका थिए ।
33तर मलाई पर्खालको झ्यालबाट टोकरीमा हालेर तल झारियो र म तिनको हातबाट उम्केँ ।