Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 6

१ राजाहरू 6:1-19

Help us?
Click on verse(s) to share them!
1यसैले सोलोमनले परमप्रभुको मन्दिर निर्माण गर्न सुरु गरे । इस्राएलीहरू मिश्र देशबाट निस्केर आएको चार सय असीऔँ वर्षमा, सोलोमनले इस्राएलमाथि राज्य गरेको चौथो वर्षको जीभ अर्थात् दोस्रो महिनामा कामको थालनी भएको थियो ।
2सोलोमन राजाले परमप्रभुको निम्ति बनाएका मन्दिरको लमाइ साठी हात, चौडाइ बिस हात र उचाइ तिस हात थियो ।
3मन्दिरको मुख्य सभाकक्षको सामुन्नेको दलान मन्दिरको चौडाइ बराबरको थियो अर्थात् बिस हातो लामो थियो, र त्यो मन्दिरको अगिल्तिर दस हातसम्म निस्केको थियो ।
4तिनले मन्दिरको छानामुनिका साँघुरा झ्यालहरू बनाए ।
5मुख्य सभाकक्षका भित्ताहरूको विपरीत तिनले यसको वरिपरि कोठाहरू बनाए अर्थात् तिनले भित्री र बाहिरी कोठा बनाए । तिनले चारैतिर कोठाहरू बनाए ।
6सबैभन्दा मुनिको तलाको चौडाइ पाँच हात, बिचको तलाको चौडाइ छ हात र तेस्रो तलाको चौडाइचाहिँ सात हात थियो । तिनले मन्दिरका चारैपट्टि बाहिरतिर मन्दिरको भित्तामा केही नघुसाऊन् भनी पालीहरू निर्माण गरे ।
7ढुङ्गाको खानीमा नै तयार पारिएका ढुङ्गाहरूबाट मन्दिर बनाइयो । यसको निर्माण हुँदा घन वा छिनु वा कुनै किसिमको फलामे औजारको आवाज सुनिएन ।
8मन्दिरको दक्षिणपट्टि सबैभन्दा तल्लो तलाको प्रवेशद्वारा थियो, अनि त्यहाँबाट बिचको र तेस्रो तलामा जानलाई सिँढी थियो ।
9यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए । तिनले मन्दिरलाई दलिन र देवदारुका फल्याकहरूले ढाके ।
10तिनले मन्दिरको भित्री कक्षको विपरीत किनाराका कोठाहरू बनाए र हरेक कोठाको उचाइ पाँच हात थियो । ती मन्दिरसँगै देवदारुका काठका सत्तरीले जोडिएका थिए ।
11परमप्रभुको यो वचन सोलोमनकहाँ आयो,
12“तैँले बनाइरहेको यो मन्दिरको विषयमा भन्नुपर्दा, तैँले मेरा विधिविधानहरू पालन गरी न्याय कायम गरिस् र मेरा सबै आज्ञा पालन गरी तिनमा हिँडिस् भने मैले तेरा पिता दाऊदसित बाँधेको प्रतिज्ञा तँद्वारा नै पुरा गर्ने छु ।
13म इस्राएलका मानिसहरूका बिचमा बस्ने छु, र तिनीहरूलाई त्याग्ने छैनँ ।”
14यसरी सोलोमनले मन्दिर बनाएर सिद्ध्याए ।
15तिनले देवदारुका फल्याकहरूले मन्दिरको भुइँदेखि दलिनसम्म भित्रपट्टिका भित्ताहरू बनाई मन्दिरको भुइँमा सल्लाका फल्याकहरू ओछ्याए ।
16तिनले मन्दिरको पछाडिपट्टि भुइँदेखि दलिनसम्म देवदारुका बिस हात लामा फल्याकहरू मिलाएर राखे । तिनले यसलाई भित्री कोठा अर्थात् महा-पवित्रस्थान बनाए ।
17महा-पवित्रस्थानको अगाडिपट्टि रहेको मुख्य कक्ष अर्थात् पवित्रस्थान चालिस हात लामो थियो ।
18मन्दिरको भित्रपट्टिको देवदारुको काठमा फक्रेका फुल र लौकाका बुट्टा कुँदिएका थिए । ती सबै देवदारुका थिए । एउटै पनि ढुङ्गा देखिँदैनथ्यो ।
19परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।

Read १ राजाहरू 6१ राजाहरू 6
Compare १ राजाहरू 6:1-19१ राजाहरू 6:1-19