Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू

१ राजाहरू 16

Help us?
Click on verse(s) to share them!
1बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको वचन आयो,
2“मैले तँलाई धूलोबाट उठाई मेरो जाति इस्राएलमाथि अगुवा बनाए तापनि तँ यारोबामको चालमा हिँडी तैँले मेरो जाति इस्राएललाई पाप गर्न लगाएको छस् र तिनीहरूका पापद्वारा मलाई रिस उठाएको छस् ।
3हेर्, म बाशा र त्यसको घरानालाई पूर्ण रूपमा निमिट्यान्न पारिदिने छु र तेरो घरानालाई नबातका छोरा यारोबामको परिवारजस्तै तुल्याउने छु ।
4बाशाको घरानाका सहरमा मर्ने जोसुकैलाई कुकुरहरूले खाने छन्, र खेतमा मर्नेलाई चाहिँ आकाशका चराचुरुङ्गीहरूले खाने छन् ।”
5के बाशाले गरेका अरू कामहरू र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
6बाशा आफ्ना पित्रहरूसित सुत्न गए, र तिनलाई तिर्सामा गाडियो । तिनको ठाउँमा तिनका छोरा एलाह राजा भए ।
7यारोबामको घरानाले गरेजस्तै बाशाले परमप्रभुको दृष्टिमा गरेका सबै खराबी गरेकाले र आफ्ना हातको कामले उहाँलाई रिस उठाएकाले र तिनले यारोबामको घरानाका सबैलाई मारेकाले बाशा र तिनको परिवारको विरुद्धमा परमप्रभुको वचन हनानीका छोरा अगमवक्ता येहूकहाँ आयो ।
8यहूदाका राजा आसाको छब्बिसौँ वर्षमा बाशाका छोरा एलाहले तिर्सामा बसेर सारा इस्राएलमाथि शासन गर्न थाले । तिनले दुई वर्ष राज्य गरे ।
9तिनको दास जिम्री अर्धरथ-सेनाका सेनापति थिए जसले राजाको विरुद्धमा षड्यन्त्र गरे । त्यस बेला एलाह तिर्सामा भएको आफ्नो राजमहलको जिम्मावाल आर्साको घरमा मद्यपान गरिरहेका थिए ।
10जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए ।
11जब जिम्री आफ्नो सिंहासनमा बसी शासन गर्न थाले, तिनले बाशाका सबै घरानालाई मारे । तिनले बाशाका आफन्त वा मित्रहरूमध्ये एउटै पनि पुरुषलाई जिउँदो छाडेनन् ।
12यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए ।
13बाशा र तिनका छोरा एलाहले गरेका पाप र इस्राएललाई गर्न लगाएका सबै पापको कारण अनि तिनीहरूका मूर्तिहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएको कारण यस्तो हुन आएको हो ।
14के एलाहले गरेका अरू कामहरूको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
15यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस
16बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे ।
17ओम्री गिब्बतोनबाट गए र तिनीसँगै सारा इस्राएल पनि गए, अनि तिनीहरूले तिर्सालाई घेरा हाले ।
18त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।

19तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरेर यारोबामको चालमा र तिनले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापमा हिँडेर ती पाप गरेकाले यसो हुन आएको हो ।
20के जिम्रीका अरू कामहरू र तिनले गरेको विद्रोहको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
21तब इस्राएलका मानिसहरू दुई भागमा विभाजन भए । मानिसहरूमध्ये आधाले गीनतका छोरा तिब्नीलाई राजा बनाउन तिनलाई पछ्याए भने बाँकी आधाले चाहिँ ओम्रीलाई पछ्याए ।
22तर ओम्रीलाई पछ्याउने मानिसहरू गीनतका छोरा तिब्नीलाई पछ्याउने मानिसहरूभन्दा बढी शक्तिशाली थिए । त्यसैले तिब्नी मरे, र ओम्री राजा बने ।
23यहूदाका राजा आसाको एकतिसौँ वर्षमा ओम्रीले सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले जम्माजम्मी बाह्र वर्ष राज्य गरे । तिनले छ वर्षचाहिँ तिर्साबाट राज्य गरे ।
24तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे ।
25ओम्रीले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे, अनि तिनीभन्दा अगिका सबैले भन्दा तिनी अझै दुष्टतापूर्वक हिँडे ।
26किनकि तिनी नबातका छोरा यारोबामका सबै चाल र तिनले तिनीहरूका बेकम्मा मूर्तिहरूद्वारा इस्राएललाई गर्न लगाएका पापमा हिँडी तिनले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
27के ओम्रीले गरेका अरू कामहरू र तिनले देखाएको शक्तिको विषयमा इस्राएलका राजाहरूको इतिहासकको पुस्तकमा लेखिएका छैनन् र ?
28यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।
29यहूदाका राजा आसाको अठतिसौँ वर्षमा ओम्रीका छोरा आहाबले इस्राएलमाथि शासन गर्न थाले । ओम्रीका छोरा आहाबले सामरियाबाट इस्राएलमाथि बाइस वर्ष शासन गरे ।
30ओम्रीका छोरा आहाबले परमप्रभुको दृष्टिमा जे खराब थियो, त्यही गरे । तिनले तिनीभन्दा अगिका सबैले भन्दा अझै खराब गरे ।
31आहाबको लागि नबातका छोरा यारोबामका पापमा हिँड्नु मामुली कुरा थियो । त्यसैले तिनले सीदोनीहरूका राजा एताबालकी छोरी ईजेबेलसित विवाह गरे । तिनले बालको पुजा गरे र त्यसको सामु निहुरे ।
32तिनले सामरियामा निर्माण गरेका बालको मन्दिरमा बालको निम्ति एउटा वेदी बनाए ।
33आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
34आहाबको शासनकालमा बेथेलका हीएलले यरीहोको पुनर्निर्माण गरे । हीएलले सहरको जग बसाल्दा तिनको जेठो छोरो अबीरामको मृत्यु भयो । तिनले सहरका मूल ढोकाहरू बनाइरहँदा तिनको कान्छो छोरो सगूबको मृत्यु भयो । यसरी परमप्रभुले नूनका छोरा यहोशूद्वारा बोल्नुभएको वचन पुरा भयो ।