Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू

१ राजाहरू 11

Help us?
Click on verse(s) to share them!
1अब राजा सोलोमनले फारोकी छोरीलगायत मोआबी, अम्मोनी, सीदोनी र हित्तीजस्ता धेरै विदेशी स्त्रीहरूलाई प्रेम गरे ।
2तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।
3सोलोमनका सात सय जना राजकीय पत्नी र तिन सय जना उपपत्नी थिए । तिनका पत्नीहरूले तिनको ह्रदयलाई बहकाइदिए ।
4किनकि जब सोलोमन वृद्ध भए तिनका पत्नीहरूले तिनको ह्रदयलाई अन्य देवताहरूतर्फ फर्काइदिए । तिनको ह्रदय तिनका पिता दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरतर्फ पूर्ण रूपमा समर्पित भएन ।
5किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे ।
6सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् ।
7तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए ।
8तिनले आफ्ना सबै विदेशी पत्नीका निम्ति पनि पुजा गर्ने अग्लो स्थानहरू बनाए जसले त्यहाँ तिनीहरूका देवताहरूलाई धूप बाल्ने र बलिदान चढाउने गर्थे ।
9परमप्रभु सोलोमनसित रिसाउनुभयो, किनकि तिनको ह्रदय इस्राएलका परमेश्वरबाट तर्केर गएको थियो यद्यपि उहाँ तिनीकहाँ दुई पटक देखा पर्नुभएको थियो,
10र यसै विषयमा अर्थात् तिनी अरू देवताहरूको पछि लाग्न हुँदैन भनी उहाँले तिनलाई आज्ञा दिनुभएको थियो । तर सोलोमनले परमप्रभुको आज्ञा मानेनन् ।
11त्यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, “तैँले यसो गरेको कारण र तैँले मेरो करार र मैले तँलाई आज्ञा गरेका मेरा विधिविधानहरू पालन नगरेकोले निश्चय नै म यो राज्य तँबाट खोसेर तेरो दासलाई दिने छु ।
12तथापि तेरा पिता दाऊदको खातिर म तेरो जीवनकालमा यसो गर्दिनँ, तर तेरो छोरोको पालमा त्यसको हातबाट म यसलाई विभाजन गरिदिने छु ।
13तापनि म सबै राज्य खोस्दिनँ । मेरा दास दाऊदको खातिर र मैले चुनेको यरूशलेमको खातिर म एउटा कुल तेरो छोरोलाई दिने छु ।”
14तब परमप्रभुले सोलोमनको विरुद्धमा एदोमी हददलाई विरोधीको रूपमा उठाउनुभयो । तिनी एदोमको राजकीय घरानाका थिए ।
15दाऊद एदोममा छँदा सेनापति योआब मरेकाहरूको लाश गाड्न एदोममा उक्लेका थिए जहाँ हरेक पुरुष मारिएको थियो ।
16योआबले एदोमको हरेक पुरुषलाई नमारुञ्जेल तिनी र इस्राएल त्यहाँ छ महिनासम्म बसेका थिए ।
17तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।
18तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।

19हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।
20तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए ।
21तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।”
22तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।”
23परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।
24दाऊदले सोबाका मानिसहरूलाई पराजित गर्दा रेसोनले आफ्ना लागि मानिसहरू भेला गरे र तिनी सानो मोर्चाका सेनापति बनेका थिए । रेसोनका मानिसहरू दमस्कस गए, र त्यहीँ बसोबास गरे । यसरी रेसोनले दमस्कसलाई नियन्त्रणमा लिए ।
25तिनी सोलोमनको जीवनभर इस्राएलका शत्रु थिए, र हददले पुर्‍याउएको सङ्कष्टमा तिनले पनि साथ दिए । रेसोन इस्राएललाई घृणा गर्थे र तिनले अराममाथि शासन गरे ।
26तब नबातका छोरा यारोबाम पनि राजाको विरुद्धमा बागी भए । तिनी सोलोमनका एक जना अधिकारी जेरेदाका एफ्राइमी थिए । तिनकी विधवा आमा सेरूआ थिइन् ।
27तिनी राजाको विरुद्धमा उठे किनकि सोलोमनले टेवा दिने गाराहरू बनाएका थिए, र आफ्ना पिता दाऊदको सहरको पर्खालमा प्रवेशद्वार मर्मत गरेका थिए ।
28यारोबाम एक शक्तिशाली मानिस थिए । तिनी मेहनती भएको देखेर सोलोमनले तिनलाई योसेफका घरानाका सारा बेगार काम गर्नेहरूमाथि तिनलाई नाइके तुल्याएका थिए ।
29त्यस बेला यारोबाम यरूशलेममा जाँदा शीलोका अहियाह अगमवक्ताले तिनलाई बाटोमा भेटे । अहियाहले नयाँ खास्टो लगाएका थिए र मैदानमा दुई जना मानिस मात्र थिए ।
30तब अहियाहले आफूले लगाएको नयाँ खास्टो निकाली त्यसलाई च्यातेर बाह्र टुक्रा बनाए ।
31तिनले यारोबामलाई भने, “दसवटा टुक्रा लिनुहोस्, किनकि इस्राएलका परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म सोलोमनको हातबाट राज्य टुक्रा पारेर तँलाई दस कुल दिने छु,
32(तर मेरा दास दाऊदको खातिर र मैले इस्राएलका सबै कुलबाट चुनेको सहर यरूशलेमको खातिर सोलोमनलाई एउटा कुल दिने छु),
33किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।
34तथापि म सोलोमनको हातबाट पुरै राज्य भने खोस्दिनँ । बरु, मेरा आज्ञाहरू र मेरा विधिविधानहरू पालन गर्ने मैले चुनेका मेरा दास दाऊदको खातिर मैले त्यसलाई त्यसको जीवनभर शासक बनाएको छु ।
35तर म त्यसको छोरोको हातबाट राज्य खोसेर म दस कुललाई दिने छु ।
36म एउटा कुल सोलोमनको छोरोलाई दिने छु ताकि मेरो नाउँ राख्न मैले चुनेको सहर यरूशलेममा मेरो सामु मेरा दास दाऊदको एउटा बत्ती सधैँ बलिरहोस् ।

37म तँलाई चाहिँ लिने छु, र तैँले इच्छा गरेअनुसार तैँले शासन गर्ने छस्, र तँ इस्राएलमाथि राजा हुने छस् ।
38मेरा दास दाऊदले गरेझैँ मैले तँलाई दिएका सबै आज्ञा तैँले मानिस्, र मेरो दृष्टिमा जे ठिक छ त्यही गरिस्, र मेरा विधिविधानहरू र मेरा आज्ञाहरू पालन गर्न मेरा मार्गहरूमा हिँडिस् भने म तँसित हुने छु, र दाऊदको निम्ति निर्माण गरेझैँ म तेरो वंशलाई स्थिर गराउने छु, अनि इस्राएलचाहिँ म तँलाई दिने छु ।
39म दाऊदका सन्तानहरूलाई दण्ड दिने छु, तर सदाको निम्ति भने होइन ।”
40त्यसैले सोलोमनले यारोबामलाई मार्न खोजे । तर यारोबाम उठेर मिश्रका राजा शीशककहाँ भागे । सोलोमनको मृत्यु नहोउञ्जेलसम्म तिनी मिश्रमा नै बसे ।
41सोलोमनले गरेका अन्य कामहरू र तिनको बुद्धिको विषयमा के सोलोमनको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?
42सोलोमनले यरूशलेममा बसी सारा इस्राएलमाथि चालिस वर्षसम्म शासन गरे ।
43तिनी आफ्ना पित्रहरूसित सुते, र तिनलाई तिनका पिता दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा रहबाम राजा भए ।