14म तिमीहरूलाई भन्दछु, कि यो मानिस अर्को मानिसभन्दा बढी धर्मी ठहरिएर आफ्नो घर फर्क्यो, किनभने हरेक जसले आफूलाई उचाल्दछ त्यो होच्याइनेछ र जसले आफैँलाई होच्याउँछ त्यो उचालिनेछ ।
15उहाँले तिनीहरूलाई छोइदिऊन् भनी मानिसहरूले बालबालिकाहरूलाई पनि उहाँकहाँ ल्याए, तर यो यो देखेर चेलाहरूले तिनीहरूलाई हकारे ।
16तर येशूले तिनीहरूलाई भन्नुभयो, “साना बालबालिकाहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक, किनभने स्वर्गको राज्य यस्तैहरूको हो ।
17साँच्चै म तिमीहरूलाई भन्दछु, यदि कसैले परमेश्वरको राज्यलाई बालकले झैँ ग्रहण गर्दैन भने त्यो निश्चय नै स्वर्गमा प्रवेश गर्नेछैन ।”
18एक जना शासकले उहाँलाई सोधे, “हे असल गुरु, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ ?”
19येशूले तिनलाई भन्नुभयो, “किन मलाई असल भन्दछौ, एक परमेश्वरबाहेक कोही पनि असल छैन ।
20तिमीलाई आज्ञाहरू थाहा छ– तैँले व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झुटो गवाही नदिनू, आफ्ना आमाबुबाको आदर गर्नू ।”
21ती शासकले भने, “यी सब कुराहरू त मैले आफ्नो जवान अवस्थादेखि नै पालन गरिरहेको छु ।”
22जब येशूले यो सुन्नुभयो, उहाँले तिनलाई भन्नुभयो, “तिमीमा अझै एउटा कुराको कमी छ । तिमीले आफ्नो सारा सम्पत्ति बेच्नुपर्छ र गरिबहरूलाई दिनुपर्छ अनि तिम्रो धन स्वर्गमा हुनेछ । त्यसपछि आऊ र मेरोपछि लाग ।”
23तर जब धनी मानिसले यो कुरा सुने, तिनी अति नै दुःखित भए, कारण तिनी धेरै धनी थिए ।
24तब येशूले तिनलाई हेरेर अति दुःखित हुँदै भन्नुभयो, “धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न कति गाह्रो छ !
25धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्नुभन्दा बरु उँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ !”
26त्यो सुन्नेहरूले यसो भने, “त्यसो भए को बचाइनेछ त ?”
27येशूले जवाफ दिनुभयो, “मानिसको निम्ति जुन कुरा असम्भव छ, त्यो परमेश्वरमा सम्भव छ ।”
28पत्रुसले जवाफ दिए, “हामीले आफ्ना सबै कुराहरू त्यागेर तपाईंको पछि लागेका छौँ ।”
29येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले परमेश्वरको राज्यको खातिर घर, श्रीमती वा दाजुभाइ, आमाबुबा वा छोराछोरीलाई त्याग्दछन्,
30तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”
31बाह्र जनालाई आफूकहाँ भेला गरेर उहाँले तिनीहरूलाई भन्नुभयो, “हेर, हामी यरूशलेमतर्फ जाँदै छौँ, अनि मानिसका पुत्रको बारेमा अगमवक्ताहरूले लेखेका सबै कुरा पुरा हुनेछन् ।
32किनकि उनी अन्यजातिहरूका हातमा सुम्पिइनेछन् र मनिसहरूले उनलाई गिल्ला गर्नेछन् र अपमानजनक व्यवहार गर्नेछन् र उनलाई थुक्नेछन् ।
33उनलाई दण्ड दिइसकेपछि तिनीहरूले उनलाई मार्नेछन् र तेस्रो दिनमा उनी मृत्युबाट जीवित भई उठ्नेछन् ।”
34उनीहरूले यी कुनै पनि कुराहरू बुझेनन् र यो वचन उनीहरूबाट लुकाइएका थिए, यसकारण भनिएका कुनै पनि कुराहरू उनीहरूको समझमा आएन ।
35येशू यरीहो नजिक आउनुहुँदा, एक जना दृष्टिविहीन मानिस बाटोको छेउमा बसी भिख मागिरहेको थियो ।
36त्यो बाटो भएर ठुलो भिड गइरहेको कुरा सुनेर उसले सोध्यो, “यहाँ के हुँदै छ ?”
37तिनीहरूले उसलाई भने, “नासरतका येशू यो बाटो भएर जाँदै हुनुहुन्छ ।”
38त्यसपछि त्यो दृष्टिविहीन मानिसले चिच्याउँदै भन्यो, “हे दाऊदका पुत्र येशू, ममाथि दया गर्नुहोस् ।”
39भिडको अगिअगि हिँडिरहेका मानिसहरूले त्यो दृष्टिविहीन मानिसलाई हकारेर चुप लाग्न भने, तर उसले झन् चर्को स्वरले कराउँदै भन्यो, “दाऊदका पुत्र, ममाथि दया गर्नुहोस् ।”
40येशू टक्क उभिनुभयो र त्यस दृष्टिविहीन मानिसलाई आफूकहाँ ल्याउन आज्ञा गर्नुभयो । जब त्यस दृष्टिविहीन मानिस येशूको नजिक आयो, येशूले उसलाई सोध्नुभयो,
41“मैले तिम्रो निम्ति के गरेको तिमी चाहन्छौ ?” उसले भन्यो, “प्रभु, म देख्न चाहन्छु ।”
42येशूले भन्नुभयो, “तिमी देख्ने भइ जाऊ । तिम्रो विश्वासले तिमीलाई निको पारेको छ ।”
43तुरुन्तै उसले देख्न सक्यो र परमेश्वरको महिमा गर्दै उहाँलाई पछ्यायो । यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे ।