Text copied!
CopyCompare
पवित्र बाइबल - यूहन्‍ना - यूहन्‍ना 11

यूहन्‍ना 11:12-36

Help us?
Click on verse(s) to share them!
12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”
13अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्‍ने तिनीहरूले सोचे ।
14त्यसपछि येशूले तिनीहरूलाई स्पष्‍ट रूपमा भन्‍नुभयो, “लाजरस मरेको छ ।
15म त्यहाँ नभएकोमा तिमीहरूका खातिर म खुसी छु, ताकि तिमीहरूले विश्‍वास गर्न सक । तिनीकहाँ जाऔँ ।”
16दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”
17जब येशू आउनुभयो, लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको उहाँले पाउनुभयो ।
18बेथानिया यरूशलेमबाट नजिकै करिब तिन किलोमिटर दुरीमा पर्थ्यो ।
19धेरै यहूदीहरू मरियम र मार्थाकहाँ तिनीहरूका भाइको बारेमा तिनीहरूलाई सान्त्वना दिन आएका थिए ।
20जब मार्थाले येशू आउँदै हुनुहुन्छ भन्‍ने सुनिन्, तिनी उहाँलाई भेट्न गइन्, तर मरियमचाहिँ घरमा नै बसिरहेकी थिइन् ।
21त्यसपछि मार्थाले येशूलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।
22म जान्दछु, कि अहिले पनि तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्छ सो उहाँले तपाईंलाई दिनुहुनेछ ।”
23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”
24मार्थाले उहाँलाई भनिन्, “म जान्दछु, कि तिनी अन्त्यको दिनको पुनरुथानमा फेरि जीवित हुनेछन्” ।
25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्‍वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
26जसले मलाई विश्‍वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्‍वास गर्छ्यौ ?”
27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्छु, तपाईं नै संसारमा आइरहनुभएका परमेश्‍वरका पुत्र अर्थात् ख्रीष्‍ट हुनुहुन्छ ।”
28जब तिनले यो भनिन्, तिनी त्यहाँबाट गइन् र तिनकी बहिनी मरियमलाई सुटुक्‍क बोलाइन् । तिनले भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ र तिमीलाई बोलाउँदै हुनुहुन्छ ।”
29जब तिनले यो सुनिन्, तिनी झट्टै उठिन् र उहाँकहाँ गइन् ।
30येशू अझै पनि त्यस गाउँभित्र आउनुभएको थिएन, तर उहाँ त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन् ।
31त्यसैले, तिनीसँग घरमा भएका र तिनलाई सान्त्वना दिइरहेका यहूदीहरूले जब मरियम झट्टै उठेर बाहिर गइरहेकी देखे, तिनीहरूले तिनी चिहानमा रुन गइरहेकी छन् भन्‍ने सोची तिनीहरू पनि तिनको पछि लागे ।
32त्यसपछि जब मरियम येशू हुनुभएको ठाउँमा आइन् र उहाँलाई देखिन्, तिनी उहाँको पाउमा घोप्‍टो परिन्, र उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए मेरा भाइ मर्ने थिएनन् ।”
33जब येशूले तिनी र तिनीसँग आएका यहूदीहरू पनि रोइरहेको देख्‍नुभयो, उहाँ आत्मामा अति विचलित हुनुभयो, र दुःखित हुनुभयो ।
34उहाँले भन्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ ?” उनीहरूले उहाँलाई भने, “प्रभु आउनुहोस्, र हेर्नुहोस् ।”
35येशू रुनुभयो ।
36त्यसपछि यहूदीहरूले भने, “हेर, उहाँले लाजरसलाई कति माया गर्नुहुन्थ्यो !”

Read यूहन्‍ना 11यूहन्‍ना 11
Compare यूहन्‍ना 11:12-36यूहन्‍ना 11:12-36