Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू

लेवीहरू 5

Help us?
Click on verse(s) to share them!
1यदि कसैले आफूले देखेको वा सुनेको कुनै कुराको साक्षी भएर पनि त्यस कुराको गवाही दिनुपर्ने अवस्थामा गवाही नदिएको कारणले पाप गर्दछ भने, त्यो दोषी हुने छ ।
2वा परमेश्‍वरले अशुद्ध ठहराउनुभएको कुनै कुरा कसैले छोयो भने, चाहे त्यो कुनै अशुद्ध वन-पशु, पाल्तु पशु वा घस्रने पशुको मृत शरीर होस्, त्यसले त्यो अजानमा छोएको भए तापनि त्यो अशुद्ध र दोषी हुने छ ।
3वा त्यसले कसैको अशुद्धता छोयो भने, चाहे त्यो अशुद्धता जेसुकै होस्, र त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो दोषी हुने छ ।
4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
5यी कुराहरूमा कोही दोषी ठहरिएपछि त्यसले जेसुकै पाप गरेको भए तापनि त्यसले त्यो स्वीकार गर्नुपर्छ ।
6त्यसपछि त्यसले आफूले गरेको पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा बगालबाट पोथी पशु, पाठी वा बाख्री पापबलिको निम्ति ल्याओस्, र त्यसको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ ।
7यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति परमप्रभुकहाँ दोषबलिको रूपमा दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्‍चा ल्याओस्, एउटाचाहिँ पापबलिको निम्ति र अर्को होमबलिको निम्ति ।
8त्यसले त्यो पुजारीकहाँ ल्याओस्, जसले पहिला एउटालाई पापबलिको निम्ति अर्पण गर्ने छ । त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर त्यसको शरीरबाट त्यसलाई पूर्ण रूपमा नछुटाओस् ।
9त्यसपछि त्यसले पापबलिको केही रगत वेदीको वरिपरि छर्कोस्, र बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याओस् । योचाहिँ पापबलि हो ।
10त्यसपछि निर्देशनहरूमा वर्णन गरिएअनुसार त्यसले दोस्रो चरोलाई होमबलिको रूपमा अर्पण गरोस्, र त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ ।
11तर यदि त्यससँग दुई ढुकुर वा दुई परेवाका बच्‍चा किन्‍ने औकात छैन भने, त्यसले आफ्नो पापको निम्ति बलिको रूपमा आधा पाथी मसिनो पिठोको पापबलि ल्याओस् । त्यो पापबलि भएको कारण त्यसले त्यसमा तेल वा धूप नराखोस् ।
12त्यसले त्यो पुजारीकहाँ ल्याओस्, र पुजारीले त्यसबाट एक मुट्ठी चिन्हको रूपमा लिएर परमप्रभुको निम्ति वेदीमा आगोको बलिमाथि जलाओस् । यो पापबलि हो ।
13त्यस मानिसले गरेका सबै पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यस मानिसलाई क्षमा हुने छ । अन्‍नबलिमा झैँ भेटीबाट बाँकी रहेको जति सबै पुजारीको हुने छ’ ।”
14अनि परमप्रभु मोशासँग यसो भनेर बोल्‍नुभयो,
15“यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ ।
16जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
17परमप्रभुले नगर्नू भनी आज्ञा गर्नुभएको कुनै कुरा कसैले गर्दछ भने, त्यसबारे त्यो अजान भए तापनि, त्यो दोषी हुने छ र आफ्नो दोषको भार त्यसले आफैँ बोक्‍नुपर्छ ।
18त्यसले बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा पुजारीकहाँ दोषबलिको रूपमा ल्याओस् । त्यसले अजानमा गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।

19यो दोषबलि हो, र त्यो निश्‍चय नै परमप्रभुको अगि दोषी छ ।”