Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू

लेवीहरू 9

Help us?
Click on verse(s) to share them!
1आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।
2उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
3इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,
4र परमप्रभुको अगि बलिदानको निम्ति मेलबलिस्वरूप एउटा साँढे र एउटा भेडा, र तेल मिसाइएको अन्‍नबलि लिनू, किनभने आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुने छ ।’”
5यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
6अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
7मोशाले हारूनलाई भने, “परमप्रभुले आज्ञा गर्नुभएझैँ वेदीको नजिक आऊ र आफ्नो पापबलि र होमबलि अर्पण गर, र आफ्नै निम्ति र मानिसहरूका निम्ति प्रायश्‍चित्त गर, र मानिसहरूका निम्ति प्रायश्‍चित्तस्वरूप बलिदानलाई अर्पण गर ।”
8यसैकारण हारून वेदीको नजिक गए अनि आफ्नै निम्ति पापबलिको बाछो मारे ।
9हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।
10तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ तिनले बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई पापबलिस्वरूप वेदीमा जलाए ।
11मासु र छाला भने छाउनीभन्दा बाहिर जलाइयोस् ।
12हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।
13तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।
14तिनले भित्री भागहरू र खुट्टाहरूलाई धोए र ती सबैलाई वेदीको होमबलिमाथि जलाए ।
15हारूनले मानिसहरूका बलिदानको भेटीस्वरूप एउटा बोको अर्पण गरे, र तिनीहरूका पापको निम्ति बलिदानको रूपमा त्यसलाई लिएर मारे; तिनले पहिलो बोकोलाई गरेझैँ यसलाई पनि पापको निम्ति बलिदान गरे ।
16परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।
17तिनले अन्‍नबलि अर्पण गरेपछि त्यसबाट एक मुट्ठी लिए अनि त्यही बिहानीको होमबलिसँगै त्यसलाई वेदीमा जलाए ।
18तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।

19तर तिनीहरूले त्यस साँढे र भेडाको बोसो, बोसे-पुच्छर, भित्री भागहरूलाई ढाक्‍ने बोसो, मृगौलाहरू, र कलेजोलाई ढाक्‍ने भागलाई काटी निकाले ।
20आफूले काटेर निकालेका भागलाई लिएर तिनीहरूले छातीमा राखे, अनि हारूनले बोसोलाई वेदीमा जलाए ।
21मोशाले आज्ञा गरेझैँ हारूनले छाती र दाहिने फिलालाई परमप्रभुको अगि डोलाइने बलिझैँ डोलाए ।
22त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।
23मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
24परमप्रभुबाट आगो बाहिर निस्‍कियो र वेदीको होमबलि र बोसोलाई भस्‍म पारिदियो । जब सारा मानिसहरूले यो देखे, तिनीहरू उच्‍च सोरमा कराए र आफ्नो शिर निहुराए ।