Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू

लेवीहरू 3

Help us?
Click on verse(s) to share them!
1यदि कसैले गाई-गोरुको बथानबाट कुनै पशुको मेलबलिको भेटी चढाउँछ भने, त्यसले परमप्रभुको अगि निष्‍खोट साँढे वा गाई चढाओस् ।
2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
3त्यस मानिसले परमप्रभुको अगि आगोद्वारा मेलबलि चढाओस् । भित्री भागहरू र दुईवटा मृगौलालाई ढाक्‍ने वा तीसँगै जोडिएको,
4र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलासमेत त्यसले निकालोस् ।
5हारूनका छोराहरूले त्यो वेदीको दाउरामाथिको आगोमा होलबलिसँगै जलाओस् । यसले परमप्रभुको निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ ।
6यदि परमप्रभुको निम्ति कुनै मानिसको मेलबलि भेडा-बाख्राको बगालबाट हो भने, त्यसले निष्‍खोट भाले वा पोथी चढाओस् ।
7यदि त्यसले बलिको निम्ति थुमा चढाउँछ भने, त्यसले त्यो परमप्रभुको अगि चढाओस् ।
8त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
9त्यस मानिसले मेलबलिलाई परमप्रभुको निम्ति होमबलिझैँ चढाओस् । मेरुदण्डको तल्लो भागको सम्पूर्ण बोसो र आन्द्राभुँडीलाई ढाक्‍ने र तीसँगै भएको जम्मै बोसो,
10र दुईवटा मृगौला र कम्मरसँगै भएको बोसो, र कलेजोको भागलाई मृगौलाहरूसँगै त्यसले निकालोस् ।
11त्यसपछि पुजारीले परमप्रभुको निम्ति भोजनको होमबलिझैँ वेदीमा ती सबै जलाओस् ।
12यदि कुनै मानिसको बलि बाख्रा हो भने, त्यसले त्यो परमप्रभुकहाँ चढाओस् ।
13त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।
14त्यस मानिसले आगोद्वारा चढाइएको आफ्नो बलिलाई परमप्रभुकहाँ ल्याओस् । त्यसले भित्री भागहरूलाई ढाक्‍ने र तीसँगै भएको बोसोलाई निकालोस् ।
15त्यसले दुईवटा मृगौला, तीसँगै भएको बोसो र कम्मरसँगै भएको बोसोलाई कलेजोको भागसँगै निकालोस् ।
16पुजारीले भोजनको होमबलिझैँ ती सबै वेदीमा मिठो सुगन्ध निकाल्‍नको निम्ति जलाओस् । सबै बोसोचाहिँ परमप्रभुको हो ।
17तैँले आफ्नो घर बनाउने हरेक ठाउँमा र तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्, र तैँले बोसो र रगत नखानू ।’”