11त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौँ र अर्को दिन हामी नियापोलिस पुग्यौँ,
12त्यहाँबाट रोमी उपनिवेशको एकदमै महत्त्वपूर्ण जिल्लाको फिलिप्पी गयौँ जुनचाहिँ माकेडोनियाको एउटा सहर हो । हामी त्यस सहरमा धेरै दिनसम्म बस्यौँ ।
13सबाथ-दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौँ जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्ने हामीले ठान्यौँ । हामी बस्यौँ र जम्मा भएका स्त्रीहरूसँग कुरा गर्यौँ ।
14त्यहाँ थिआटिरा सहरमा बसोबास गर्ने लिडिया नाउँ गरेकी एउटी स्त्री थिइन् जो वैजनी रङको वस्त्रको व्यापारी थिइन् । जसले परमेश्वरको आराधना गर्थिन् र हाम्रो कुरालाई ध्यान दिएर सुनिन् । पावलले भनेका कुरा तिनले ध्यानपूर्वक सुनून् भनेर परमप्रभुले तिनको हृदय खोलिदिनुभयो ।
15तिनी र तिनका परिवार सबैजनालाई बप्तिस्मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्वासयोग्य ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् ।” भनी हामीलाई मनाइन् ।
16हामीहरू प्रार्थना गर्ने स्थानतर्फ जाँदै गर्दा, जोखना हेर्ने एउटी जवान स्त्रीसँग हाम्रो सामना भयो । त्यसले जोखना हेरेर आफ्ना मालिकहरूका निम्ति धेरै धन कमाइदिन्थी ।
17त्यो स्त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्च परमेश्वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
18त्यसले धेरै दिनसम्म त्यसो गरिरही । तर त्यसबाट धेरै झिजो मानेर पावलले पछाडितिर फर्केर त्यो आत्मालाई भने, “येशू ख्रीष्टको नाउँमा म तँलाई यसबाट निस्केर जाने आज्ञा दिन्छु ।” र त्यो तुरुन्तै निस्केर गयो ।
19जब त्यस स्त्रीका मालिकहरूले आफ्नो कमाइको आशा गुम्नेभयो भन्ने थाहा पाए, तिनीहरूले पावल र सिलासलाई समातेर घिसार्दै बजारमा अधिकारीहरूका अगि लगे ।
20तिनीहरूले पावल र सिलासलाई न्यायाधीशहरूकहाँ ल्याएर भने, “यिनीहरू यहूदीहरू हुन् र हाम्रो सहरमा एकदमै समस्या खडा गरिरहेका छन् ।
21यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”
22त्यसपछि मानिसहरूको भिड पावल र सिलास माथि खनिए; अनि न्यायाधीशहरूले उनीहरूको कपडा च्यातिदिए र उनीहरूलाई लहुराले हिर्काउने आदेश दिए ।
23तिनीहरूले उनीहरूलाई धेरै पिटेपछि तिनीहरूले पावल र सिलासलाई झ्यालखानामा हालिदिए र उनीहरूमाथि कडा निगरानी राख्न झ्यालखानाका हाकिमलाई आदेश दिए ।
24आदेश पाउने बित्तिकै झ्यालखानाका हाकिमले उनीहरूलाई भित्री कोठामा थुने र उनीहरूका खुट्टाहरू ठिँगुरामा हालेर बाँधे ।
25मध्यरातमा पावल र सिलास परमेश्वरसँग प्रार्थना गर्दै र भजन गाउँदै थिए र अरू कैदीहरूले पनि त्यो कुराहरू सुनिरहेका थिए ।
26अचानक त्यहाँ एउटा ठुलो भूकम्प गयो जसले गर्दा झ्यालखानाका जगहरू हल्लिए । तुरन्तै झ्यालखानाका सबै ढोकाहरू खोलिए अनि सबैका साङ्लाहरू आफैँ खोलिए ।
27झ्यालखानाका हाकिम आफ्नो निद्राबाट ब्युँझिए र झ्यालखानाका सबै ढोकाहरू खुल्ला देखे । तब सबै कैदीहरू भागिसके भन्ने ठानेर उनले आफ्नो तरवार निकालेर आफूलाई मार्नै लागेका थिए ।
28तर पावलले चर्को सोरले कराएर भने, “आफूलाई हानि नगर्नुहोस् किनकि हामी सबैजना यहीँ छौँ ।”
29झ्यालखानाका हाकिमले बत्ती बाल्न लगाए र दौडेर भित्र पसे अनि डराउँदै पावल र सिलासको सामु भुइँमा लम्पसार परे ।
30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ ?”
31उनीहरूले भने, “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईंले उद्धार पाउनुहुने छ, तपाईं र तपाईंको परिवारले ।”
32उनीहरूले प्रभुको वचन तिनलाई र तिनका घर-परिवारका सबैलाई सुनाए ।