Text copied!
CopyCompare
पवित्र बाइबल - प्रेरित

प्रेरित 7

Help us?
Click on verse(s) to share them!
1प्रधान पूजाहारीले भने, “के यी कुराहरू साँचा हुन् ?”
2स्तिफनसले भने, “दाजुभाइ तथा पिताहरू हो, मेरो कुरा सुन्‍नुहोस्ः हाम्रा पिता अब्राहाम हारानमा बस्‍नुअगि महिमाका परमेश्‍वर मेसोपोटामियामा तिनीकहाँ देखा पर्नुभयो ।
3उहाँले तिनलाई भन्‍नुभयो, “तिम्रो देश र तिम्रा नातेदारहरूलाई छाड र मैले देखाउने देशमा जाऊ ।”
4त्यसपछि तिनी कल्दीहरूको देशबाट प्रस्थान गरे अनि तिनी हारानमा आएर बसे । त्यहाँ तिनका पिताको मृत्यु भएपछि परमेश्‍वरले तिनलाई यस देशमा ल्याउनुभयो जहाँ अहिले तपाईंहरू बस्‍नुहुन्छ ।
5उहाँले तिनलाई कुनै पनि कुरा पैत्तृक सम्पत्तिको रूपमा दिनुभएन, यहाँसम्म कि पर्याप्‍त पाइला राख्‍ने ठाउँसम्म पनि दिनुभएन । तर अब्राहामको कुनै सन्तान नहुँदा पनि उहाँले त्यो देश तिनलाई सम्पत्तिको रूपमा दिनुहुनेथियो र त्यसपछि तिनका सन्तानहरूलाई दिनुहुनेथियो भनी तिनीसित प्रतिज्ञा गर्नुभयो ।
6परमेश्‍वरले तिनलाई भन्दै हुनुहुन्थ्यो कि तिनका सन्तानहरू विदेशी भूमिमा केही समयको लागि बस्‍नेथिए र त्यहाँका बासिन्दाहरूले तिनीहरूलाई कमारा तुल्याउनेथिए र चार सय वर्षसम्म तिनीहरूलाई थिचोमिचो गर्नेथिए ।
7परमेश्‍वरले भन्‍नुभयो, “तिनीहरू जुन जातिको अधीनमा कमारा हुनेछन् म तिनीहरूको न्याय गर्नेछु र त्यसपछि तिनीहरू त्यहाँबाट बाहिर निस्‍केर आई यस ठाउँमा मेरो आराधना गर्नेछन् ।”
8अनि उहाँले अब्राहामसित खतनाको करार बाँध्‍नुभयो । त्यसैले, अब्राहाम इसहाकका पिता बने र तिनले आठौँ दिनमा उनको खतना गरे । इसहाक याकूबका पिता बने र याकूब बाह्र कुलका पिता बने ।
9कुलपतिहरूले योसेफको विरुद्धमा डाह गरे र तिनलाई मिश्रमा बेचिदिए । तर परमेश्‍वर तिनीसित हुनुहुन्थ्यो ।
10र उहाँले तिनलाई सबै दुःखकष्‍टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
11त्यस बेला सारा मिश्र र कनानभरि अनिकाल पर्‍यो र ठुलो सङ्कष्‍ट आइपर्‍यो । परिणाम स्वरूप हाम्रा पुर्खाहरूले कुनै खाना पाएनन् ।
12तर जब मिश्रमा अन्‍न पाईंदोरहेछ भनी याकूबले सुने तिनले पहिले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए ।
13दोस्रो पटकको भेटघाटमा योसेफले आफूलाई आफ्ना दाजुहरूकहाँ प्रकट गरे, र योसेफको परिवारलाई फारोकहाँ परिचित गराइयो ।
14आफ्ना पिता याकूब र तिनका सबै नातेदारहरू अर्थात् पचहत्तर प्राणीलाई मिश्रमा आउनुहोस् भनी तिनले आफ्ना दाजुहरूमार्फत खबर पठाए ।
15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
16तिनीहरूका मृत शरीर शकेममा लगिए र अब्राहामले शकेममा हमोरका छोराहरूबाट चाँदीको मूल्यमा किनेको चिहानमा तिनीहरूलाई गाडियो ।
17परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुभएको समय नजिकिँदै गर्दा मानिसहरू मिश्रमा गुणात्मक रूपमा बढे ।
18त्यसपछि मिश्रमा अर्का राजाको उदय भयो जसले योसेफलाई चिन्दैनथ्ये ।

19ती राजाले हाम्रा मानिसहरूलाई छलगरे र हाम्रा पुर्खाहरूलाई यसरी दुर्व्यवहार गरे कि आफैँलाई बचाउन तिनीहरूले आफ्ना शिशुहरूलाई बाहिर फाल्नुपर्थ्यो ।
20त्यही बेला मोशाको जन्म भयो । तिनी परमेश्‍वरको सामु सुन्दर थिए र तिन महिनासम्म तिनका पिताको घरमा तिनको स्याहार गरियो ।
21जब तिनलाई फ्याँकियो फारोकी छोरीले तिनलाई उठाइन् र तिनलाई आफ्नै छोरासरह हुर्काइन् ।
22मोशालाई मिश्रका सारा विद्यामा शिक्षा दिइयो र तिनी आफ्ना वचन र कर्ममा शक्तिशाली बने ।
23तर जब तिनी करिब चालिस वर्ष पुगे, तिनलाई आफ्ना दाजुहरू अर्थात् इस्राएलीहरूलाई भेट गर्न मन लाग्यो ।
24एक जना इस्राएलीमाथि अन्याय भएको देखेर तिनले उसको रक्षा गरे र अत्याचार गर्ने मिश्रीलाई मारिदिए ।
25परमेश्‍वरले तिनीद्वारा तिनका दाजुभाइहरूको छुट्कारा गर्न खोज्दै हुनुहुन्थ्यो भन्‍ने कुरा तिनीहरूले बुझ्लान् भनी तिनले सोचे, तर तिनीहरूले त्यो कुरा बुझेनन् ।
26अर्को दिन तिनी केही इस्राएलीहरूकहाँ आए जहाँ तिनीहरू एक आपसमा झगडा गरिरहेका थिए । तिनले तिनीहरूको झगडा मिलाउन खोजे र भने, “तपाईंहरू दाजुभाइ हुनुहुन्छ । किन एकअर्काको विरुद्धमा लड्नुहुन्छ ?”
27तर जसले आफ्नो छिमेकीलाई हानि पुर्‍याएको थियो त्यसले तिनलाई धकेलेर भन्यो, “तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता तुल्यायो ?
28हिजो तिमीले त्यस मिश्रीलाई मारेझैँ के तिमी मलाई पनि मार्न चाहन्छौ ?”
29यो सुनेर मोशा भागे । तिनी मिद्यान देशमा परदेशी बने जहाँ तिनी दुई छोराका पिता बने ।
30चालिस वर्ष बितेपछि सीनै पर्वतको उजाड–स्थानमा जलिरहेको आगोको पोथ्रामा एउटा स्वर्गदूत तिनीकहाँ देखा परे ।
31मोशाले ज्वालालाई देखेपछि तिनी छक्‍क परे । त्यसलाई हेर्न तिनी नजिक जाँदा त्यहाँ परमप्रभुको आवाज आयो,
32“तिम्रा पुर्खाहरू अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर मै हुँ ।” मोशा काँपे र तिनले हेर्ने साहस गरेनन् ।
33परमप्रभुले तिनलाई भन्‍नुभयो, “तिम्रा जुत्ता फुकाल किनकि तिमी उभिएको ठाउँ पवित्र भूमि हो ।
34निश्‍चय नै मैले मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍टलाई देखेको छु । मैले तिनीहरूको क्रन्दन सुनेको छु र म तिनीहरूलाई छुट्कारा दिन तल ओर्लीआएको छु । म तिमीलाई मिश्रमा पठाउनेछु ।”
35यी मोशा जसलाई तिनीहरूले इन्कार गरेका थिए, जसलाई तिनीहरूले भनेका थिए, “कसले तिमीलाई शासक र न्यायकर्ता तुल्यायो ?”, तिनैलाई परमेश्‍वरले शासक र उद्धारकर्ता दुवै बनाएर पठाउनुभयो । पोथ्रामा मोशाकहाँ देखा पर्ने स्वर्गदूतद्वारा परमेश्‍वरले तिनलाई पठाउनुभयो ।
36मिश्र, लाल समुद्रसाथै उजाड–स्थानमा चालिस वर्षसम्म आश्‍चर्यकर्म र चिन्हहरू गरेर मोशाले तिनीहरूलाई मिश्रबाट बाहिर ल्याए ।

37यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”
38यी तिनै मानिस हुन् जो उजाड-स्थानमा भएको समुदायसित स्वर्गदूतसँगै थिए जो सीनै पर्वतमा तिनीसित बोलेका थिए । यी तिनै मानिस थिए जो हाम्रा पुर्खाहरूसित थिए; यी तिनै मानिस थिए जसले हामीलाई दिन जीवित वचनहरू प्राप्‍त गरे ।
39यी तिनै मानिस थिए जसप्रति हाम्रा पुर्खाहरू आज्ञाकारी बनेनन्; तिनीहरूले तिनलाई पन्छाए र तिनीहरू आफ्ना हृदयमा मिश्रमा फर्कने चाहना गरे ।
40त्यस बेला तिनीहरूले हारूनलाई भने, “हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस् । हामीलाई मिश्र देशबाट अगुवाइ गरेर ल्याउने यी मोशालाई के भयो हामीलाई थाहा छैन ।”
41ती दिनमा तिनीहरूले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई बलिदान चढाए र तिनीहरू आफूले गरेको काममा रमाए ।
42तर परमेश्‍वर तिनीहरूबाट तर्कनुभयो र तिनीहरूलाई आकाशका ताराहरूको सेवा गर्न छाडिदिनुभयो जस्तो अगमवक्‍ताका पुस्तकहरूमा लेखिएको छः “इस्राएलका घराना हो, के तिमीहरूले मलाई चालिस वर्षसम्म उजाड-स्थानमा पशुबलि र बलिदानहरू चढायौ र ?”
43तिमीहरूले मोलोखको पवित्र वासस्थान र रेफन देवताको तारा र आफूले पूजा गर्न बनाएका मूर्तिहरूलाई स्वीकार गर्‍यौ । यसकारण म तिमीहरूलाई बेबिलोनभन्दा पर निर्वासनमा लैजानेछु ।”
44उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्‍वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
45हाम्रा पुर्खाहरूको पालोमा तिनीहरूले यस पाललाई यहोशूसँगै यस देशमा ल्याए । हाम्रा पुर्खाहरूको उपस्थितिमा परमेश्‍वरले ती जातिहरूलाई बाहिर निकाली तिनीहरूको देश हाम्रा पुर्खाहरूको हातमा दिनुहुँदा यो घटना भएको थियो । दाऊदको समयसम्म यस्तै भयो,
46जसले परमेश्‍वरको दृष्‍टिमा निगाह पाए र तिनले याकूबका परमेश्‍वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
47तर सोलोमनले परमेश्‍वरको निम्ति एउटा भवन बनाए ।
48तथापि सर्वोच्‍च परमेश्‍वर हातले बनाएका घरहरूमा बस्‍नुहुन्‍न जस्तो अगमवक्‍ताले भनेका छन्ः
49‘स्वर्ग मेरो सिंहासन हो, र पृथ्वी मेरा खुट्टाको पाउदान । तिमीहरूले मेरो निम्ति कस्तो किसिमको घर बनाउन सक्छौ ?’ परमप्रभु भन्‍नुहुन्छ । वा मेरो विश्राम स्थान कहाँ छ ?
50के यी सबै कुराहरू मेरै हातले बनाएका होइनन् र ?’
51हे हठी मानिसहरू हो, हृदय र कानको खतना नभएकाहरू, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ । तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ ।
52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन् ? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।
53तपाईंहरूले स्वर्गदूतहरूद्वारा स्थापित व्यवस्था पाउनुभयो तर त्यसको पालना गर्नुभएन ।”
54जब परिषद्का सदस्यहरूले यी कुराहरू सुने तिनीहरू स्तिफनसको विरुद्धमा क्रूद्ध बने र तिनीहरूले दाह्रा किटे ।

55तर तिनले पवित्र आत्माले भरिएर एकटकले स्वर्गतिर हेरे र परमेश्‍वरको महिमा साथै येशूलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे ।
56स्तिफनसले भने, “हेर्नुहोस्, म स्वर्ग उघ्रेको र मानिसका पुत्रलाई परमेश्‍वरको दाहिने हातपट्टि उभिरहनुभएको देख्दछु ।”
57तर परिषद्का सदस्यहरू ठुलो सोरले चिच्‍च्याए; तिनीहरूले आफ्ना कान थुने र तिनीहरू तिनीमाथि जाइलागे ।
58तिनीहरूले तिनलाई सहरबाहिर ल्याए र तिनीमाथि ढुङ्गा बर्साए । साक्षीहरूले शाऊल नाउँ गरेका जवान मानिसको खुट्टानेर आफ्ना बाहिरी वस्‍त्रहरू खोलेर राखे ।
59तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बसाईरहँदा तिनले निरन्तर रूपमा प्रभुको पुकारा गरे र भने, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस् ।”
60तिनले घुँडा टेकी ठुलो सोरले चिच्‍च्याए, “हे प्रभु, तिनीहरूलाई यो पापको दोष नलागोस् ।” यति भनेपछि तिनले आफ्नो प्राण त्यागे ।