Text copied!
CopyCompare
पवित्र बाइबल - दानिएल

दानिएल 9

Help us?
Click on verse(s) to share them!
1दारा मादी वंशका अहासूरसका छोरा थिए । यी तिनै अहासूरस थिए जसलाई बेबिलोनको राज्यमाथि राजा बनाइएको थियो ।
2अब दाराले राज्‍य सुरु गरेको पहिलो वर्षमा, म दानिएलले, परमप्रभुको वचन पढ्दै थिएँ, जुन वचन यर्मियाकहाँ अगमवक्ता आएको थियो । यरूशलेम त्‍यागिएको अवस्‍थामा सत्तरी वर्षसम्म रहन्‍छ भनिएको मैले देखें ।
3उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ ।
4परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ ।
5हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।
6तपाईंका नाउँमा हाम्रा राजाहरू, अगुवाहरू, पुर्खाहरू र देशका सबै मानिसहरूसँग बोलेका तपाईंका सेवक अगमवक्ताहरूका वचन हामीले सुनेका छैनौं ।
7हे परमप्रभु, धार्मिकता तपाईंको हो । तर आज, हाम्रो अनुहार, अनि यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरू, र सारा इस्राएलीहरू लाजमा परेका छन् । अनि तपाईंले विभिन्‍न ठाउँहरूमा छरपष्‍ट पार्नुभएका नजिक र टाढाका सबै मानिसहरू त्यसमा समावेश हुन्‍छन् । हामीले तपाईंको विरुद्धमा गरेका विश्‍वासघातको कारणले नै यस्‍तो भएको हो ।
8हे परमप्रभु, हामीले तपाईंको विरुद्धमा पाप गरेका कारणले गर्दा, हामी, हाम्रा राजाहरू, अगुवाहरू, र पुर्खाहरूका अनुहार शर्ममा परेका छन् ।
9दया र क्षमा परमप्रभु हाम्रा परमेश्‍वरका हुन्, किनकि हामीले उहाँको विरुद्धमा विद्रोह गरेका छौं ।
10आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।
11तपाईंको वचन पालन गर्नलाई इन्‍कार गरेर सबै इस्राएलले तपाईंको व्यवस्थाको विरुद्धमा अपराध गरेका छन्। परमेश्‍वरका सेवक मोशाका व्यवस्थामा लेखिएका सराप र प्रतिज्ञा हामीमाथि खनिएका छन्, किनकि हामीले उहाँको विरुद्ध पाप गरेका छौं।
12परमप्रभुले हामीमाथि ठुलो विपत्ति ल्याउनुभएर उहाँले हामी र हाम्रा शासकहरूका विरुद्धमा बोल्नुभएका वचनहरू पुरा गर्नुभएको छ । किनभने यरूशलेमलाई जे गरिएको छ सारा स्वर्गमुनि त्यस्तो कहिल्यै गरिएको छैन ।
13मोशाको व्यवस्थामा लेखिएझैं सबै विपत्ति हामीमाथि आइपरेको छन्, तापनि आफ्ना पापबाट फर्केर र तपाईं परमप्रभु परमेश्‍वरका सत्यतामा ध्यान दिएर हामीले तपाईंबाट कृपा पाउन अझैसम्‍म बिन्ती गरेका छैनौं ।
14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्‍नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्‍वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
15अब हे परमप्रभु हाम्रा परमेश्‍वर, शक्तिशाली हातले तपाईंले आफ्ना मानिसहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र आजको दिनसम्म तपाईंले आफ्नो नामको ख्याति कायम राख्‍नुभएको छ । तापनि हामीले अझै पाप गर्‍यौं, र हामीले दुष्‍ट काम गरेका छौं ।
16हे परमप्रभु, तपाईंका सबै धार्मिक कामहरूका कारणले, तपाईंको सहर यरूशलेम, तपाईंको पवित्र पर्वतबाट तपाईंको रिस र क्रोध हटोस् । हाम्रा पापहरू र हाम्रा पुर्खाहरूका अपराधहरूका कारणले, यरूशलेम र हाम्रा वरिपरि भएका तपाईंका मानिस सबै घृणाका पात्र भएका छन् ।
17अब हे हाम्रा परमेश्‍वर, तपाईंको दासको प्रार्थना र कृपाको निम्ति गरिएको उसको निवेदन सुन्‍नुहोस् । हे परमप्रभु, तपाईंको खातिर, उजाड भएको तपाईंको पवित्र स्थानमा आफ्नो अनुहार चम्काउनुहोस् ।
18मेरा परमेश्‍वर, आफ्ना कान खोल्‍नुहोस् र सुन्‍नुहोस् । आफ्ना आँखा खोल्‍नुहोस् र हेर्नुहोस् । हामी तहस-नहस पारिएका छौं। तपाईंको नामद्वारा पुकारिने त्‍यो सहरलाई हेर्नुहोस् । हाम्रो धार्मिकताको कारणले होइन, तर तपाईंको महान् कृपाको कारणले तपाईंबाट सहायता पाउनलाई हामी बिन्ती गर्छौं ।

19हे परमप्रभु सुन्‍नुहोस्! हे परमप्रभु क्षमा गर्नुहोस्! हे परमप्रभु ध्यान दिनुहोस् र काम गर्नुहोस् । हे मेरा परमेश्‍वर, तपाईंको आफ्नै निम्‍ति ढिला नगर्नुहोस्, किनभने तपाईंको सहर र तपाईंका मानिस तपाईंकै नाउँले बोलाइन्‍छन् ।”
20जब म बोलिरहेको, प्रार्थना गरिरहेको र आफू अनि आफ्‍ना मानिस इस्राएलका पाप स्‍विकार गरिरहेको थिएँ, र परमेश्‍वरको पवित्र पर्वत निम्‍ति परमप्रभु मेरा परमेश्‍वरको सामु मेरा बिन्‍तीहरू राख्दै थिएँ—
21मैले प्रार्थना गरिरहँदा, मैले दर्शनमा पहिला देखेको मानिस, गाब्रिएल साँझको बलिदानको समयमा तिव्र वेगले उडेर तल मकाहाँ आए ।
22उनले मलाई समझ दिए र मलाई भने, “ए दानिएल, तिमीलाई अन्तर्दृष्‍टि र समझ दिनलाई अहिले म आएको हुँ ।
23तिमीले कृपाको निम्ति बिन्ती गर्न सुरु गर्दा, आज्ञा दिइयो र तिमीलाई जवाफको बारेमा बताउनलाई म आएको हुँ, किनकि तिमीलाई धेरै प्रेम गरिएको छ । यसकारण यो वचन विचार गर र प्रकट भएको कुरालाई बुझ ।
24तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको दोषको अन्‍त्‍य गर्न र पापलाई अन्त्य गर्न, दुष्‍टताको निम्ति पश्‍चात्ताप गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमवाणीलाई पुरा गर्न, र अति पवित्र स्थानलाई शुद्ध पार्नलाई सत्तरी सातहरूको आदेश दिइएको छ ।
25यो जान र बुझ, कि यरूशलेमलाई पुनर्स्थापित र पुनर्निर्माण गर्ने आज्ञा दिएपछि, अभिषिक्त जनको (जो अगुवा हुनेछन्) आगमनसम्‍म त्यहाँ सात सातहरू र बैसठ्ठी सातहरू हुनेछन् । धेरै विपदका समयहरू हुने भए तापनि, सडकहरू र सुरुङहरूसहित यरूशलेमको पुनर्निर्माण हुनेछ ।
26बैसठ्ठी सातहरूपछि, अभिषिक्त जनलाई नाश पारिनेछ र तिनीसँग केही पनि हुनेछैन । आउनेवाला शासकका सेनाले सहर र पवित्र स्थानलाई नाश गर्नेछ । बाढीसँगै त्यसको अन्त्य आउनेछ, र अन्त्‍यसम्मै युद्ध हुनेछ । सर्वनाश पार्ने आज्ञा दिइएको छ ।
27एउटा सातको निम्‍ति तिनले धेरै जनासँग करार सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान र भेटीलाई समाप्‍त गर्नेछन् । घृणित कुराहरूको पखेटामा कोही व्‍यक्‍ति आउनेछ जसले सर्वनाश गर्नेछ । सर्वनाश गर्ने व्‍यक्‍तिलाई पूर्ण रूपमा खत्तम गर्ने र विनाश पार्ने आदेश भएको छ ।”