1राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:
2पीनहासका परिवारका– गेर्शोम । ईतामारका परिवारका– दानिएल । दाऊदका परिवारका– शकन्याहका छोरा हत्तूश,
3परोशका परिवारका– जकरिया र तिनीसँग दर्ता भएका १५० पुरुष जसको विवरण तिनको वंशावलीमा लेखिएको छ ।
4पहत-मोआबका परिवारका– जरयाहका छोरा एल्यहोएनै र तिनीसँग २०० पुरुष थिए ।
5जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
6आदीनका परिवारका– जोनाथनका छोरा एबेद र तिनीसँग ५० पुरुष थिए ।
7एलामका परिवारका– अतल्याहका छोरा यशयाह र तिनीसँग ७० पुरुष थिए ।
8शपत्याहका परिवारका– मिखाएलका छोरा जबदियाह र तिनीसँग ८० पुरुष थिए ।
9योआबका परिवारका– यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष थिए ।
10बानीका परिवारका– योसिपियाका छोरा शलोमीत र तिनीसँग १६० पुरुष थिए ।
11बेबैका परिवारका– बेबैका छोरा जकरिया, र तिनीसँग २८ पुरुष थिए ।
12अज्गादका परिवारका– हक्कातानका छोरा योहानान र तिनीसँग ११० पुरुष थिए ।
13अदोनीकामका परिवारका– पछि आएका एलीपेलेत, यीएल र शमायाह, र तिनीहरूसँग ६० पुरुष थिए ।
14बिग्वैको परिवारका– उत्तै र जक्कूर, र तिनीहरूसँग ७० पुरुष थिए ।
15मैले यात्रुहरूलाई अहावातिर बग्ने नहरमा जम्मा गरें, र हामीले त्यहाँ तिन दिनसम्म छाउनी हाल्यौं । मैले मानिसहरू र पुजारीहरूको जाँच गरें तर त्यहाँ लेवीका सन्तानहरू कोही पनि पाइनँ ।
16त्यसैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब र एल्नातान र नातान, जकरिया र मशुल्लाम जो अगुवाहरू थिए, अनि योयारीब र एल्नातान जो शिक्षकहरू थिए, तिनीहरूलाई मैले बोलाएँ ।
17त्यसपछि मैले तिनीहरूलाई कासिपियाका अगुवा इद्दोकहाँ पठाएँ । इद्दो र तिनका आफन्तहरू, कासिपियामा बसिरहेका मन्दिरका सेवकहरूकहाँ गएर हामीकहाँ परमेश्वरको मन्दिरका लागि सेवकहरू पठाइदिनुहोस् भनी तिनीहरूलाई भन्न लगाएँ ।
18त्यसैले हाम्रा परमेश्वरको भलो गर्ने हातद्वारा तिनीहरूले बुद्धिमान् मानिस शरेबियाहलाई हामीकहाँ पठाइदिए । तिनी इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका थिए । तिनी अठार छोरा र दाजुभाइसँगै आए ।
19तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।
20दाऊद र तिनका अधिकारीहरूले लेवीहरूलाई सहायता गर्न मन्दिरमा सेवा गर्ने यस्ता सेवकहरूको नियुक्त गरेका, २२० जना त्यस्ता मानिसहरूको पनि नाउँ दर्ता गरिए ।
21त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें ।
22बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।'
23त्यसैले यस विषयमा हामीले उपवास बस्यौं, र परमेश्वरको खोजी गर्यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।
25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।
26मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
27आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
28तब मैले तिनीहरूलाई भनें, “तिमीहरू र यी वस्तुहरू परमप्रभुका निम्ति समर्पण गरिएका छन् । चाँदी र सुन तिमीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको निम्ति स्वेच्छिक भेटी हुन् ।
29यरूशलेममा परमेश्वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्नू ।”
30यरूशलेममा हाम्रा परमेश्वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्मा लिएर राखे ।
31पहिलो महिनाको बाह्रौं दिनमा हामी अहावा नहरबाट यरूशलेम प्रस्थान गर्यौं । हामीमाथि हाम्रा परमेश्वरको हात थियो । उहाँले हामीलाई शत्रु र बाटोमा लुकेर बसेका लुटेराहरूको हातबाट सुरक्षा दिनुभयो ।
32यसरी हामी यरूशलेम प्रवेश गर्यौं, र त्यहाँ तिन दिन बस्यौं।
33तब चौथो दिनमा चाँदी, सुन र वस्तुहरू तौलेर हाम्रा परमेश्वरको घरमा उरियाह पुजारीका छोरा मरेमोत र तिनको साथमा भएका पीनहासका छोरा एलाजार, यशूअका छोरा योजाबाद, लेवी बिन्नूईका छोरा नोअदिया हातमा जिम्मा लगाइयो ।
34हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।
35निर्वासन अर्थात् कैदबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति होमबलिहरू चढाए । तिनीहरूले सारा इस्राएलीका निम्ति बाह्रवटा साँढे, पापबलिको रूपमा छयानब्बेवटा भेडा, सतहत्तरवटा थुमा र बाह्रवटा बोका चढाए । यी सबै परमप्रभुका निम्ति होमबलि थिए ।
36तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्ने राजाका उच्च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्वरको मन्दिरलाई मदत गरे ।