Text copied!
CopyCompare
पवित्र बाइबल - एज्रा

एज्रा 9

Help us?
Click on verse(s) to share them!
1जब यी कुराहरू भए तब अधिकारीहरू मकहाँ आए र भने, “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले अन्य देशमा बस्‍ने जातिहरू अर्थात् कनानी, हित्ती, परिज्‍जी, यबूसी, अम्मोनी, मोआबी, मिश्री र एमोरीहरू अनि तिनीहरूका घिनलाग्दा कुराहरूदेखि आफैलाई अलग गरेका छैनन् ।
2किनकि तिनीहरूले उनीहरूका केही छोराछोरीसित विहेवा गरेका छन् र अरू देशका जातिहरूसित पवित्र जातिलाई मिसाएका छन्, अनि अधिकारीहरू र अगुवाहरूले नै पहिले यस्तो अविश्‍वासको काम गरेका छन् ।”
3जब मैले यो सुनें तब मैले मेरो लुगा र खास्टो च्यातें अनि मेरो शिरको कपाल र दाह्री उखेलें र दुःखित भई बसें ।
4साँझको बलिदान चढाउने समयसम्म नै म बसिरहँदा यस अविश्‍वासयोग्य कामको बारेमा इस्राएलका परमेश्‍वरको वचनदेखि डराउने सबै जना मकहाँ भेला भए ।
5तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ ।
6मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् ।
7हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं ।
8तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो ।
9हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।
10तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र ? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
11ती आज्ञाहरू जुन तपाईंले आफ्ना सेवक अगमवक्ताहरूलाई तपाईंले भनेर दिनुभयो, “तिमीहरू जुन देश अधिकार गर्न लाग्दैछौ, त्यो अशुद्ध देश हो । त्यस देशका जातिहरूका घिनलाग्दा कुराहरूले यो देश दूषित भएको छ । तिनीहरूले यसको एउटा कुनादेखि अर्को कुनासम्म अशुद्धताले भरेका छन् ।
12त्यसैले अब आफ्ना छोरीहरू तिनीहरूका छोराहरूलाई नदिनू । तिनीहरूका छोरीहरू आफ्‍ना छोराहरूका लागि नलिनू, र तिनीहरूका जारी शान्ति र भलाइको खोजी नगर्नू, जसको कारणले तिमीहरू बलिया हुनेछौ, र त्यस देशका असल थोकहरूको उपभोग गर्नेछौ अनि तिमीहरूले आफ्ना छोराछोरीका लागि सदाको लागि यो देश अधिकार गर्नेछौ ।”
13तापनि हाम्रो दुष्‍ट अभ्यास र हाम्रो ठुलो दोषको कारणले हामीमाथि हरेक कुरा आइपरे पनि तपाईं हाम्रा परमेश्‍वरले हामीलाई हाम्रा अपराधअनुसार कम दण्ड दिनुभएको छ र हामीलाई बाँचेकाहरू छाड्नुभएको छ,
14हामीले फेरि तपाईंका आज्ञाहरू भङ्ग गर्न र यी घिनलाग्दा जातिहरूसित मिश्रित विवाह गर्न हुन्‍छ र ? के तपाईं क्रोधित भएर कोही पनि नरहने गरी हामीलाई निमिट्‍यान्‍न पार्नुहुन्‍न र ?
15हे इस्राएलका परमप्रभु परमेश्‍वर, तपाईं धर्मी हुनुहुन्छ, किनकि आजको दिनसम्म हामी केही बाँचेकाहरू अझै छौं । हाम्रो दोषको कारणले कोही पनि तपाईंको सामु खडा हुन नसक्‍ने भए तापनि हामी हाम्रा दोषमा तपाईंको सामु छौं ।