Text copied!
CopyCompare
पवित्र बाइबल - एज्रा

एज्रा 3

Help us?
Click on verse(s) to share them!
1इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।
2योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे ।
3त्यसपछि तिनीहरूमा देशका मानिसहरूको डर परेको भए तापनि तिनीहरूले वेदीलाई त्‍यसको आधारमा स्थापित गरे । तिनीहरूले बिहान र बेलुका परमप्रभुका निम्ति होमबलिहरू चढाए ।
4लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।
5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।
6मन्‍दिरको जग नै नबसालिएको भए तापनि तिनीहरूले सातौं महिनाको पहिलो दिनमा परमप्रभुका निम्ति होमबलिहरू चढाउन थाले ।
7तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।
8त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।
9येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइ जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए ।
10जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।
11तिनीहरूले परमप्रभुलाई प्रशंसा र धन्यवादको गीत गाए, “उहाँ भलो हुनुहुन्छ ! इस्राएलसित बाँधिएको उहाँको करारको विश्‍वासनियता सदासर्वदा रहन्छ ।” मन्दिरको जग बसालिएको हुनाले सबै मानिसले परमप्रभुको प्रशंसा गर्दै आनन्दले कराए ।
12तर पुजारीहरू, लेवीहरू र मुख्‍य मानिसहरूमध्‍ये धेरै जना जो धेरै वृद्ध थिए र पहिलो मन्दिरलाई देखेका थिए, जब तिनीहरूको आँखाको सामु यो मन्दिरको जग बसालियो, तब तिनीहरू धुरुधुरु रोए । तर खुसी र आनन्‍दको चर्को स्‍वरको आनन्दले कराउने मानिसहरूको संख्‍या धेरै थियो ।
13फलस्वरूप, मानिसहरूले आनन्‍द र खुसीको आवाजलाई रोएका मानिसहरूको आवाजबाट छुट्ट्याउन सकेनन् किनकि मानिसहरू ठुलो आनन्दले कराउँदै थिए, र आवाज टाढा-टाढासम्म सुनिएको थियो ।