Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 9

१ राजाहरू 9:1-19

Help us?
Click on verse(s) to share them!
1सोलोमनले परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याएछि र तिनले चाहेका कुरा सबै सम्पन्न गरेपछि
2गिबोनमा देखा पर्नुभएझैँ परमप्रभु दोस्रो पटक सोलोमनकहाँ देखा पर्नुभयो ।
3तब परमप्रभुले तिनलाई भन्नुभयो, “तैँले मेरो सामु राखेको प्रार्थना र बिन्ती मैले सुनेको छु । मैले तैँले बनाएको यो मन्दिर सदासर्वदा मेरो नाउँ राख्न आफ्नै लागि अलग गरेको छु । मेरा आँखा र मेरो मन सधैँभरि त्यहाँ हुने छ ।
4मैले तँलाई आज्ञा गरेका सबै आज्ञा पालन गरी मेरा विधिविधानहरू र उर्दीहरू मानेर ह्रदयको सत्यनिष्ठा र सोझोपनमा तेरा पिता दाऊद हिँडेझैँ तँ मेरो सामु हिँडिस् भने,
5म इस्राएलमाथि तेरो राज्यको सिंहासन सदाको निम्ति स्थापित गर्ने छु, जस्तो मैले तेरा पिता दाऊदलाई यसो भनी प्रतिज्ञा गरेको थिएँ, 'इस्राएलको सिंहासनमा बस्न तेरो सन्तानको कहिल्यै अभाव हुने छैन ।'
6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,
7मैले इस्राएललाई दिएको देशबाट म तिनीहरूलाई निष्कासित गरिदिने छु, र मेरो नाउँको लागि मैले अलग गरेको यो मन्दिरलाई म मेरो दृष्टिबाट मिल्काइदिने छु अनि इस्राएल सबै जातिका बिचमा घृणा र उपहासको उदाहरण बन्ने छ ।
8यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला ?’
9अरूहरूले जवाफ दिने छन्, ' तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र देशबाट ल्याउनुहुने तिनीहरूका परमेश्वर परमप्रभुलाई त्यागी अरू देवताहरूको पछि लागी तिनीहरूको सामु निहुरी तिनीहरूलाई पुजेकाले परमप्रभुले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभएको हो' ।”
10सोलोमनले दुईवटा भवन अर्थात् परमप्रभुको मन्दिर र राजदरबार बनाएर सिद्ध्याउन तिनलाई बिस वर्ष लाग्यो ।
11टुरोसका राजा हीरामले सोलोमनले चाहेका सबै देवदारु र सल्लाका काठ तिनलाई जुटाइदिए । त्यसैले सोलोमन राजाले हीरामलाई गालीलको क्षेत्रमा बिसवटा सहर दिए ।
12सोलोमनले हीरामलाई दिएका सहरहरू हेर्न तिनी टुरोसबाट आए, तर तिनी खुसी भएनन् ।
13त्यसैले हीरामले भने, “हे मेरा भाइ, तपाईंले मलाई दिनुभएका यी सहरहरू कस्ता सहरहरू हुन् ?” हीरामले ती सहरहरूलाई काबूल देश भने जसलाई आजसम्म पनि त्यही नाउँले चिनिन्छ ।
14हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।
16मिश्रका राजा फारोले गेजेरलाई माथि उक्लेर कब्जा गरेका थिए । तिनले यस सहरका कनानीहरूलाई मारेर जलाइदिएका थिए । त्यसपछि फारोले यो सहर आफ्नी छोरी सोलोमनकी पत्नीलाई दाइजोस्वरूप दिएका थिए ।
17त्यसैले सोलोमनले गेजेर र तल्लो बेथ-होरोनलाई पुनर्निर्माण गरे ।
18तिनले बालात र यहूदियाको उजाड-स्थानमा तामार, आफ्नो अधिकारमा भएका सबै भण्डारण गर्ने सहरहरू,
19र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।

Read १ राजाहरू 9१ राजाहरू 9
Compare १ राजाहरू 9:1-19१ राजाहरू 9:1-19