Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 22

१ राजाहरू 22:3-28

Help us?
Click on verse(s) to share them!
3इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भनेका थिए, “के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ ।”
4त्यसैले तिनले यहोशापातलाई भने, “के तपाईं युद्ध गर्नलाई मसितै रामोत-गिलादमा जानुहुन्छ ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन् ।”
5यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”
6तब इस्राएलका राजाले चार सय अगमवक्तालाई जम्मा गरी तिनीहरूलाई भने, “म रामोत-गिलादमा युद्ध गर्न जाऊँ कि नजाऊँ ? तिनीहरूले जवाफ दिए, “आक्रमण गर्नुहोस्, किनकि परमप्रभुले यो राजाका हातमा सुम्पिदिनुहुने छ ।”
7तर यहोशापातले भने, “के यहाँ परमप्रभुका अर्का कुनै अगमवक्ता छैनन् जसबाट हामीले सल्लाह लिन सक्छौँ ?”
8इस्राएलका राजाले यहोशापातलाई भने, “एक जना मानिस छन् जसबाट हामीले मदतको लागि परमप्रभुबाट सल्लाह लिन सक्छौँ । तिनी यिम्लाका छोरा मीकाया हुन्, तर म तिनलाई घृणा गर्छु किनकि तिनले मेरो बारेमा कुनै असल कुरोको भविष्यवाणी गर्दैनन्, केवल खरावी मात्र बोल्छन् ।” तर यहोशापातले भने, “राजाले यस्तो भन्नुहुँदैन ।”
9तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”
10इस्राएलका राजा आहाब र यहूदाका राजा यहोशापात राजकीय पोशाक पहिरेर सामरियाको मूल ढोकाको खुला ठाउँमा आ-आफ्नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताले तिनीहरूका सामु अगमवाणी बोल्दै थिए ।
11केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
12तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
14मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
15जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ ?”
17तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र ?”
19तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
20परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।
21तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी ?’
22आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
23त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
24तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त ?”
25मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”
27त्यसलाई भन्, ‘राजा भन्नुहुन्छः यो मानिसलाई झ्यालखानामा हाल्, र म सुरक्षितसाथ नफर्केसम्म त्यसलाई थोरै रोटी र थोरै पानी मात्र खुवाउनू' ।”
28तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”

Read १ राजाहरू 22१ राजाहरू 22
Compare १ राजाहरू 22:3-28१ राजाहरू 22:3-28