Text copied!
CopyCompare
पवित्र बाइबल - होशे

होशे 13

Help us?
Click on verse(s) to share them!
1“जब एफ्राइम बोल्‍थ्‍यो, तब त्यहाँ कम्पन हुन्थ्यो । त्यसले आफैंलाई इस्राएलमा उच्‍च पार्‍यो, तर बाल देवताको उपासना गरेको कारणले त्यो दोषी ठहरियो, र त्यो मर्‍यो ।
2अब तिनीहरू झन् धेरै पाप गर्छन् । आफ्ना चाँदीलाई ढालेर तिनीहरू मूर्तिहरू बनाउँछन्, सकेसम्‍म राम्रो सिपले ती मूर्तिहरू बनाउँछन्, र ती सबै शिल्पकारका काम हुन् । मानिसहरूले तिनीहरूका बारेमा भन्छन्, ‘बलिदान चढाउने यी मानिसहरूले बाछाहरूलाई चुम्बन गर्छन् ।’
3यसैले तिनीहरू बिहानको बादलझैं, चाँडै नै बिलाइजाने शितझैं, खलाबाट हुरीले टाढा उडाएको भुसझैं, र चिम्नीबाट निस्‍कने धूवाँझैं हुनेछन् ।
4तर मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मबाहेक अर्को कुनै परमेश्‍वर छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ । र मबाहेक कुनै अर्को उद्धारकर्ता छैन भनी तिमीहरूले स्‍वीकार गर्नुपर्छ ।
5उजाड-स्‍थानमा, अति सुक्‍खा भूमिमा नै, मैले तिमीहरूलाई चिनें ।
6जब तिमीहरूले खर्कमा खायौ, तब तिमीहरू भरपेट भयौ, र जब तिमीहरूको पेट भरियो, तब तिमीहरूका हृदयमा घमण्ड पलायो । त्यही कारणले तिमीहरूले मलाई भुल्यौ ।
7तिनीहरूका निम्ति म एउटा सिंहझैं हुनेछु, र चितुवाझैं म तिनीहरूको बाटोभरि ढुक्‍नेछु ।
8छाउराहरू खोसिएको माउ भालूले झैं म तिनीहरूलाई आक्रमण गर्नेछु । तिनीहरूका छातीहरूलाई म च्यात्‍नेछु, र त्यहाँ म तिनीहरूलाई सिंहले झैं निल्‍नेछु जसरी जङ्गली पशुले तिनीहरूलाई टुक्रा-टुक्रा पार्छ ।
9ए इस्राएल, म तँलाई नष्‍ट गर्नेछु । कसले तँलाई सहायता गर्नेछ?
10तेरो राजा कहाँ छ, जसले तँलाई सबै सहरहरूमा बचाउन सक्‍ला? तेरा शासकहरू कहाँ छन्, जसको विषयमा तैंले मलाई भनिस्, ‘मलाई एउटा राजा र राजकुमारहरू दिनुहोस्’?
11मैले आफ्‍नो क्रोधमा तँलाई एउटा राजा दिएँ, र मेरो क्रोधमा त्यसलाई मैले हटाएँ ।
12एफ्राइमको अपराध थुप्रिएको छ । त्यसको पाप थुप्रिएको छ ।
13प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।
14के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्‍युबाट बचाउनेछु र? ए मृत्‍यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
15एफ्राइम आफ्ना दाजुभाइका बिचमा समृद्ध भए पनि, पूर्वीय बतास आउनेछ, परमप्रभुको बतास उजाड-स्‍थानबाट बहनेछ । एफ्राइमको मुहान सुक्‍नेछ, र त्यसको इनारमा पानी हुनेछैन । त्यसका हरेक बहुमुल्य थोकको भण्डारलाई त्यसको शत्रुले लुट्‍नेछ ।
16सामरिया दोषी ठहरिनेछ, किनकि त्यसले आफ्नो परमेश्‍वरको विरुद्धमा विद्रोह गरेको छ । तिनीहरू तरवारद्वारा मारिनेछन्, र तिनीहरूका जवान छोराछोरीलाई पछारेर टुक्रा-टुक्रा पारिनेछ, र तिनीहरूका गर्भवती स्‍त्रीहरूका पेट चिरिनेछन् ।