3बाह्र जनामध्ये एउटा यहूदा इस्करियोतमा शैतान पस्यो ।
4येशूलाई कसरी तिनीहरूकहाँ सुम्पन सकिन्छ भन्ने बारेमा छलफल गर्न यहूदा मुख्य पुजारीहरू र कप्तानहरूसँगै गयो ।
5तिनीहरू खुसी भए र उसलाई पैसा दिन सहमत भए ।
6ऊ सहमत भयो र उसले उहाँलाई भिडबाट टाढा बनाएर तिनीहरूकहाँ सुम्पने उचित अवसर खोज्यो ।
7अखमिरी रोटीको चाडको दिन आयो जुन दिन निस्तार-चाडको थुमा बलिदान चढाउनै पर्थ्यो ।
8येशूले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “जाओ र हाम्रो निम्ति निस्तार-चाडको भोज तयार पार, ताकि हामीले खान सकौँ ।”
9तिनीहरूले उहाँलाई सोधे, “हामीले कहाँ तयार परेको तपाईं चाहनुहुन्छ ?”
10उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “सुन, जब तिमीहरू सहरभित्र पस्तछौँ, तिमीहरूले एउटा पानीको गाग्रो बोकिरहेको मानिस भेट्टाउनेछौ । ऊ जाने घरभित्र उनलाई तिमीहरूले पछ्याओ ।
11तब घरको मालिकलाई भन, गुरुले तपाईंलाई भन्नुहुन्छ, ‘पाहुना कोठा कहाँ छ, जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाड खानेछु ?’
12उनले तिमीहरूलाई एउटा ठुलो सजाइएको माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहीँ तयारी गर ।”
13त्यसैले, तिनीहरू गए र उहाँले तिनीहरूलाई भनेझैँ हरेक थोक भेट्टाए । तब तिनीहरूले निस्तार-चाडको भोज तयार पारे ।
14जब समय आयो, उहाँ प्रेरितहरूसँगै बस्नुभयो ।
15तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले कष्ट भोग्नअगि तिमीहरूसँग निस्तार-चाड खाने ठुलो इच्छा गरेको छु ।
16किनभने म तिमीहरूलाई भन्दछु, यो परमेश्वरको राज्यमा पुरा नभएसम्म मैले फेरि खानेछैनँ ।”
17तब येशूले कचौरा लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, उहाँले भन्नुभयो, “यो लेऊ, र तिमीहरूका बिचमा बाँड ।
18किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य नआएसम्म म फेरि अङ्गुरको फलको रस पिउनेछैनँ ।”
19तब उहाँले रोटी लिनुभयो, र जब उहाँले धन्यवाद दिनुभयो, र उहाँले रोटी भाँच्नुभयो, र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “यो मेरो शरीर हो, जुन तिमीहरूका निम्ति दिइएको छ । मेरो सम्झनामा यो गर्ने गर ।”