Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 8

यहोशू 8:12-28

Help us?
Click on verse(s) to share them!
12तिनले झण्डै पाँच हजार जना मानिस लिए र सहरको पश्‍चिमपट्टि बेथेल र ऐको बिचमा लुक्‍न पठाए ।
13तिनीहरूले मुख्य फौजलाई सहरको उत्तरतिर र पछाडितिरको सुरक्षाकर्मीहरूलाई पश्‍चिमपट्टि गरी सबै सिपाहीलाई तैनाथ गरे । त्यस रात यहोशूले बेँसीमा नै रात बिताए ।
14जब ऐका राजाले यो देखे, तिनी र तिनका फौज बिहान सबेरै उठे र माथिबाट यर्दन नदीलाई देख्‍ने ठाउँमा इस्राएललाई आक्रमण गर्न निस्के । लुकेका मानिसहरूले सहरलाई पछाडिबाट आक्रमण गर्न पर्खिरहेका छन् भन्‍ने तिनलाई थाहा थिएन ।
15यहोशू र सबै इस्राएलले तिनीहरू सामु आफैलाई पराजित हुन दिए र तिनीहरू मरुभूमितिर भागे ।
16सहरमा भएका सबै मानिसलाई तिनीहरूको पिछा गर्नलाई आह्वान गरियो र तिनीहरू यहोशूको पछिपछि गए अनि तिनीहरूलाई सहरबाट बाहिर निकालियो ।
17इस्राएललाई लखेट्न नजाने ऐ र बेथेलमा एक जना पनि मानिस बाँकी रहेन । तिनीहरूले इस्राएलको पिछा गर्दा सहरलाई त्यागे र यसलाई खुला नै छोडे ।
18परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तेरो हातमा भएको भालालाई ऐतिर पसार, किनभने म ऐलाई तेरो हातम दिने छु ।” यहोशूले तिनको हातमा भएको भाला सहरतिर पसारे ।
19तिनले आफ्नो हातको भाला पसार्दा लुकेर बसेका सिपाहीहरू आ-आफ्नो ठाउँबाट हतार-हतार निस्‍के । तिनीहरू दौडे र सहरभित्र पसी यसलाई कब्जा गरे । तिनीहरूले सहरलाई आगो लगाइदिए ।
20ऐका मानिसहरू फर्के र पछाडि हेरे । तिनीहरूले सहरबाट आकाशतिर धूवाँ गइरहेको देखे र तिनीहरू यता-उता कतै पनि उम्कन सकेनन् । किनभने मरुभूमितिर भागेका इस्राएली सिपाहीहरू तिनीहरूका पिछा गर्नेहरूको सामना गर्न फर्केका थिए ।
21जब यहोशू र सारा इस्राएलले धूवाँको मुस्‍लोसँगै सहर कब्जा गरेको देखे, तिनीहरू फर्के र ऐका मानिसहरूलाई मारे ।
22सहरभित्र गएका अरू सिपाहीहरू पनि तिनीहरूलाई आक्रमण गर्न बाहिर निस्के । त्यसैले ऐका मानिसहरू यतापट्टि र उतापट्टिका इस्राएलका फौजको बिचमा फसे । इस्राएलले ऐका मानिसहरूलाई आक्रमण गर्‍यो; तिनीहरू कोही पनि बचेनन् वा उम्केनन् ।
23तिनीहरूले ऐका राजालाई सुरक्षित राखे, जसलाई तिनीहरूले जीवितै समातेका थिए र तिनीहरूले तिनलाई यहोशूकहाँ ल्याए ।
24जब इस्राएलले मरुभूमि नजिकैको मैदानमा ऐका बासिन्दाहरू सबैलाई मारिसिद्ध्याए, जहाँ उनीहरूले तिनीहरूको पिछा गरेका थिए र तिनीहरू सबै तरवारद्वारा मारिए, तब सबै इस्राएल ऐतिर फर्के । तिनीहरूले यसलाई तरवारले आक्रमण गरे ।
25त्यस दिन मरेका पुरुष र महिला बाह्र हजार जना थिए । ऐका सबै मानिस यति नै थिए ।
26यहोशूले ऐका मानिसहरू सबैलाई पूर्ण रूपमा नष्‍ट नपारेसम्म भाला समाइरहेका तिनको हात पछाडि फर्काएनन् ।
27परमप्रभुले यहोशूलाई आज्ञा गर्नुभएमुताबिक तिनीहरूले सहरबाट गाईवस्तुहरू र लूटका मालहरू मात्र लिए ।
28यहोशूले ऐलाई जलाए र यसलाई भग्‍नावशेषको थुप्रोमा परिणत गरिदिए । यो आजको दिनसम्म पनि त्यागिएको ठाउँ भएको छ ।

Read यहोशू 8यहोशू 8
Compare यहोशू 8:12-28यहोशू 8:12-28