Text copied!
CopyCompare
पवित्र बाइबल - यशैया

यशैया 5

Help us?
Click on verse(s) to share them!
1मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
2उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।
3त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
4मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
5अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।
6म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
7किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
8ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ !
9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।
10किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ ।
11कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।
12तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।
13यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
14यसकारण चिहानले आफ्‍नो भोकलाई ठुलो पारेको छ र त्‍यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्‍छन् ।
15मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।
16सर्वशक्तिमान् परमप्रभु आफ्‍नो न्यायमा उच्‍च पारिनुहुनेछ र परमपवित्र परमेश्‍वरले आफ्‍नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
17तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
18धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।

19धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
20धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
21धिक्‍कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन् !
22धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
23जसले घुस लिएर दुष्‍टलाई छोडिदिन्‍छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ !
24यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।
25यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
26उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
27तिनीहरूका माझमा कोही पनि थाक्‍नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्‍नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
28तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।
29तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।
30त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।