Text copied!
CopyCompare
पवित्र बाइबल - यशैया

यशैया 27

Help us?
Click on verse(s) to share them!
1त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
2त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
3“म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।
4म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने ! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ ।
5तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
6आउने दिनहरूमा, याकूबले जरा हाल्‍नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।”
7याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैं के तिनीहरूलाई मरिएका छन्?
8याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
9यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।
10किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
11जब हाँगाहरू सुक्‍छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्‍नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
12त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।
13त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।