Text copied!
CopyCompare
पवित्र बाइबल - यशैया

यशैया 13

Help us?
Click on verse(s) to share them!
1बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्‍त गरेका घोषणाः
2नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्‍ति उच्‍च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
3मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्‍ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
4पर्वतहरूमा एउटा भीडको जस्‍तो धेरै जना मानिसहरूको हल्ला ! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज ! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्‍छ ।
5तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्‍यामले सम्‍पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
6डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्‌बाट विनाशसँगै आउँछ ।
7यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
8तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्‍त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्‍छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
9हेर, देशलाई विनाश पार्न र त्‍यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
10आकाशका ताराहरू र तारा पुन्‍जहरूले आफ्‍ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
11संसारलाई त्‍यसको दुष्‍टताको निम्‍ति अनि दुष्‍टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्‍नेछु ।
12मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।
13यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्‍दो क्रोध र उहाँको प्रचण्‍ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्‍नो ठाउँमा हल्‍लिनेछ ।
14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।
15भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।
16तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्‍नीहरूलाई बलत्‍कार गरिनेछ ।
17हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
18तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।

19त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।
20पुस्‍तौं-पुस्‍तासम्म त्‍यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्‍नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
21तर मरूभुमिका जङ्‍गली पशुहरू त्यहाँ बस्‍नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
22तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।