Text copied!
CopyCompare
पवित्र बाइबल - २ शमूएल

२ शमूएल 15

Help us?
Click on verse(s) to share them!
1यसपछि यस्‍तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
2अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्‍ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्‍थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”
3त्यसैले अब्शालोमले त्यसलाई भन्‍थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”
4अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्‍यो र म त्यसलाई न्याय दिलाउँथे ।”
5यसैले यस्‍तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्‍यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्‍थे र त्यसलाई अङ्गालो हाल्‍थे र त्यसलाई चुम्बन गर्थे ।
6राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्‍यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।
7चार वर्षको अन्ततिर यस्‍तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।
8किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”
9त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।
10तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्‍ने बित्तिकै, तिमीहरूले यसो भन्‍नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”
11अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए । अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्‍नो अज्ञानतामा गए ।
12अब्शालोमले बलिदान चाढाउँदा, उनले गिलोका अहीतोपेललाई पनि बोलाए । तिनी दाऊदका सल्लाहकार थिए । अब्शालोमको षड्यान्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्‍ने मानिसहरूका सङ्‍ख्‍या निरन्‍तर बढ्‍दै थियो ।
13दाऊदकहाँ एक जना दूत यसो भन्‍दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”
14त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्‍ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्‍ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”
15राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्‍नुहुन्छ सो गर्न तयार छन् ।”
16राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्‍नीलाई राजाले छोडिराखे ।
17राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।
18तिनका सबै फौज तिनीसँगै हिंडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।

19तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।
20किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”
21तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्‍तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्‍ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ ।”
22त्यसैले दाऊदले इत्तैलाई भने, “अगि बढ, हामी निरन्‍तर बस ।” त्यसैले गित्ती इत्तै राजा, तिनका सबै मानिस र सबै परिवार सँगसँगै हिंडे ।
23राजाले किद्रोनको बेसी तर्दा देशभरिका सबै मानिस धुरुधुरु रोए र सबै मानिस पनि राजासँगै पारि तरे । सबै मानिस उजाडस्‍थान जाने बाटोसम्म गए ।
24परमेश्‍वरको करारको सन्दुक बोक्‍ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्‍वरको सन्दुकलाई भुईंमा राखे र त्‍यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।
25राजाले सादोकलाई भने, “परमेश्‍वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्‍टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्‍नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ ।
26तर उहाँले यसो भन्‍नुहुन्छ भने, 'तँसँग म प्रशन्‍न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
27राजाले सादोक पुजारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।
28हेर, मलाई जानकारी दिनलाई तिमीबाट खबर नआएसम्म म अराबाको जँघारहरूमा पर्खिने छु ।”
29त्यसैले सादोक र अबियाथारले परमेश्‍वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।
30तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए । तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे ।
31कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।”
32यस्‍तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्‍वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए, ।
33दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्‍ने छौ ।
34तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।
35के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्‍नुपर्छ ।
36हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन् । तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू ।”

37त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।