Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 4

लुका 4:14-30

Help us?
Click on verse(s) to share them!
14त्यसपछि पवित्र आत्माको शक्‍तिद्वारा येशू गालीलमा फर्कनुभयो र उहाँको विषयमा भएको खबर वरिपरिका सबै क्षेत्रहरूमा फैलियो ।
15उहाँले तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो र हरेकले उहाँको प्रशंसा गरे ।
16एक दिन येशू नासरतमा आउनुभयो, जुन सहरमा येशू हुर्कनुभएको थियो । उहाँको रीतिअनुसार उहाँ यहूदी सभाघरमा प्रवेश गरी विश्रामको दिनमा खडा भई धर्मशास्‍त्र पाठ गर्नुभयो ।
17उहाँलाई यशैया अगमवक्‍ताको चर्मपत्रको मुट्ठो दिइयो । त्यसपछि उहाँले मुट्ठो खोल्नुभयो र यो लेखिएको ठाउँ भेट्टाउनुभयो ।
18“परमप्रभुका आत्मा ममाथि छ, किनभने उहाँले मलाई गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति अभिषेक गर्नुभएको छ । उहाँले कैदीहरूलाई छुटकाराको घोषणा गर्न मलाई पठाउनुभएको छ र दृष्‍टिविहीनहरूलाई दृष्‍टि दिन, अन्यायमा परेकाहरूलाई स्वतन्‍त्रता प्रदान गर्न,
19र परमप्रभुको निगाहको वर्ष घोषणा गर्न मलाई पठाउनुभएको छ ।”
20त्यसपछि उहाँले चर्मपत्रको मुट्ठोलाई बन्‍द गर्नुभयो र सभाघरको मुख्य सेवकलाई फिर्ता गर्नुभयो र उहाँ बस्‍नुभयो । सभाघरमा उपस्थित भएका सबै मानिसहरूको हेराइ उहाँमाथि पर्‍यो ।
21उहाँले तिनीहरूलाई भन्‍नुभयो, “आज तिमीहरूले यी वचनहरू सुन्दा सुन्दै यो पुरा भएको छ ।”
22उहाँले बोल्नुभएको वचनको सबैजना साक्षी भए र सबै मानिसहरू उहाँको मुखबाट निस्केको अनुग्रही वचनप्रति आश्‍चर्य चकित भए । उनीहरू यसो भन्दै थिए, “के यी मानिस ‍योसेफका छोरा होइनन् र ?
23येशूले तिनीहरूलाई भन्‍नुभयो, “निश्‍चय नै तिमीहरूले मलाई यो उखान भन्‍नेछौ, ए वैद्य तिमी आफैँलाई निको पार । कफर्नहुममा जे-जति कामहरू तपाईंले गर्नुभयो त्यो हामीले सुनेका छौँ, ती कार्यहरू तिम्रो आफ्नो स्थानीय ठाउँमा पनि गर ।”
24साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।
25तर म तिमीहरूलाई सत्य भन्दछु, तिन वर्ष छ महिनासम्म स्वर्गको ढोका बन्द गरी वृष्‍टि रोकिँदा र सारा भूमीमा ठुलो अनिकाल पर्दा एलियाको समयमा इस्राएलमा धेरै विधवाहरू थिए ।
26तर एलियालाई अन्य कुनै व्यक्‍ति र स्थानहरूमा नपठाई सिदोन नगरमा भएकी सारपतकी विधवाकहाँ पठाइयो ।
27अगमवक्‍ता एलीशाको समयमा इस्राएलमा धेरै कुष्‍ठरोगीहरू थिए, तर सिरियाली नामानबाहेक कोही पनि निको पारिएन ।
28जब सभाघरमा भएका सबै मानिसहरूले यी सबै कुराहरू सुने, तब उनीहरू रिसले चुर भए ।
29तिनीहरू उठे र उहाँलाई सहरको बाहिरपट्टि ठेल्दै लागे, जुन सहर तिनीहरूले पहाडमा बसालेका थिए, त्यहीँबाट तल उहाँलाई खसाल्ने प्रयत्‍न गरे ।
30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

Read लुका 4लुका 4
Compare लुका 4:14-30लुका 4:14-30