Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 11

रोमी 11:2-24

Help us?
Click on verse(s) to share them!
2परमेश्‍वरले अघिबाटै पहिचान गर्नुभएको आफ्नो जातिलाई इन्कार गर्नुभएन । एलियाको बारेमा धर्मशास्‍त्रले के भन्छ अर्थात् तिनले इस्राएलको बारेमा परमेश्‍वरसँग कसरी बिन्ती गरे भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?
3“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्‍ताहरूलाई मारेका छन्, तिनीहरूले तपाईंका वेदीहरूलाई भत्काएका छन् । म मात्र छोडिएको छु, र तिनीहरूले मेरो पनि ज्यान लिन खोजी गरिरहेका छन् ।”
4तर परमेश्‍वरको जवाफले तिनलाई के भन्छ ? “बाल देवतासामु आफ्ना घुँडा नटेकेका सात हजार मानिसलाई मेरो निम्ति साँचेर राखेको छु ।”
5त्यसो भए, अनुग्रहको छनोटको कारण वर्तमान समयमा पनि बाँकी रहेकाहरू छन् ।
6तर यो अनुग्रहद्वारा हो भने यो कामद्वारा होइन । नत्रता अनुग्रह अनुग्रह नै हुने थिएन । (नोटः केही पुरानो प्रतिलिपिमा यस्तो छ, तर यदि यो कर्महरूद्वारा हो भने यो अनुग्रह हुँदै होइन; नत्र कर्म हुँदै हुँदैन ।)
7त्यसो भए के त ? इस्राएलले जे खोजिरहेको थियो, यसले पाएन, तर चुनिएकाहरूले त्यो पाए र बाँकी रहेकाहरूलाई चाहिँ कठोर बनाइयो ।
8जस्तो लेखिएको छ, “परमेश्‍वरले तिनीहरूलाई बोधो आत्मा दिनुभएको छ, ताकि आजको दिनसम्म पनि तिनीहरूका आँखा छन् र पनि तिनीहरूले देख्‍न नसकून् अनि कान छन् र पनि तिनीहरूले सुन्‍न नसकून् ।”
9अनि दाऊद भन्छन्, “तिनीहरूका भोजनको टेबल तिनीहरूका निम्ति पासो, जाल, बाधा र तिनीहरूका विरुद्धमा प्रतिशोध बनोस् ।
10तिनीहरूका आँखा अँध्यारो होस्, ताकि तिनीहरूले नदेखून् । तिनीहरूका ढाड सधैँ कुप्रो होस् ।”
11त्यसो भए म भन्छु, “के तिनीहरू पतन हुनका लागि ठक्‍कर खाएका हुन् ?” त्यस्तो कहिले नहोस् । बरु, तिनीहरूका असफलताद्वारा तिनीहरूलाई डाही तुल्याउनको निम्ति गैरयहूदीहरूकहाँ मुक्‍ति आएको छ ।
12अब यदि तिनीहरूको असफलता संसारको निम्ति धन हो र यदि तिनीहरूको नोक्सानी गैरयहूदीहरूका निम्ति लाभ हो भने, तिनीहरूको पूर्णता झनै कति ठुलो हुन्छ होला ?
13अनि अहिले म गैरयहूदीहरूसँग बोलिरहेको छु । जबसम्म म गैरयहूदीहरूको प्रेरित हुन्छु, म मेरो सेवा-कार्यमा गर्व गर्छु ।
14सायद मेरा आफ्नैहरूलाई म डाही तुल्याउनेछु । सायद हामीले तिनीहरूमध्ये केहीलाई बचाउनेछौँ ।
15किनकि यदि तिनीहरूको इन्कार संसारको मिलाप हो भने, तिनीहरूको स्वीकार मृतकहरूबाट जीवित पारिनुबाहेक के हुनेछ र ?
16यदि अगौटे फलहरूलाई बचाएर राखिन्छ भने मुछेको पिठोको ढिक्‍कालाई पनि त्यसै गरिन्छ । यदि जरालाई बचाएर राखिन्छ भने हाँगाहरूलाई पनि त्यसै गरिन्छ ।
17तर यदि केही हाँगाहरू भाँचिएका थिए भने तिमी जङ्गली जैतूनको हाँगालाई तिनीहरूसँग कलमी बाँधिएका थियौ भने, र तिमीहरू जैतूनको उर्बर जरामा तिनीहरूसँग सहभागी भयौ भने
18हाँगाहरू भएकोमा घमण्ड नगर । तर यदि तिमीले गर्व गर्छौ भने, जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले तिमीलाई थाम्छ ।
19तब तिमीले भन्‍नेछौ, “हाँगाहरू भाँचिएका थिए, ताकि ममा कलमी बाँधियोस् ।”
20त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।
21किनकि परमेश्‍वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
22तब परमेश्‍वरको दयाका कामहरू र कठोरतालाई हेर । एकातिर, पतन भएका यहूदीहरूमाथि परमेश्‍वरको कठोरता आइपर्‍यो । तर अर्कोतिर, यदि तिमीहरू उहाँको भलाइमा लागिरह्‍यौ भने तिमीहरूमाथि परमेश्‍वरको भलाइ आउँछ । नत्रता तिमीहरू पनि काटिनेछौ ।
23अनि त्यसरी नै, यदि तिनीहरू आफ्ना अविश्‍वासमा लागिरहँदैनन् भने तिनीहरू पुनः कलमी बाँधिनेछन् ।
24यदि तिमीहरू स्वभावैले जङ्गली जैतूनबाट काटियौ र आफ्नो स्वभाव विपरीत असल जैतूनमा कलमी बाँधियौ भने, यी यहूदीहरू जो प्राकृतिक हाँगाहरू हुन्, यिनीहरू आफ्नै जैतूनको रुखमा कति धेरै कलमी बाँधिनेछन् ?

Read रोमी 11रोमी 11
Compare रोमी 11:2-24रोमी 11:2-24