9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
10त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ ।
11मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
12तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।
15जब मलाई गुप्तमा बनाइयो, जब मलाई पृथ्वीको गहिराइमा जटिल किसिमले बनाइयो, तब मेरा हाडहरू तपाईंबाट लुकेका थिएनन् ।
16तपाईंले मलाई गर्भभित्रै देख्नुभयो । मेरो निम्ति तोकिएको आयुको पहिलो दिन हुनुअगि नै ती तपाईंको पुस्तकमा लेखिएका थिए ।
17हे परमेश्वर, तपाईंका विचारहरू मेरो निम्ति कति बहुमूल्य छन् ! तिनका सङ्ख्या कति धेरै छन् !
18तिनलाई मैले गन्न कोसिस गरें भने, ती बलुवाको संख्याभन्दा धेरै हुन्छन् । म ब्युँझिंदा, म अझै तपाईंसँगै हुन्छु ।
19हे परमेश्वर, तपाईंले दुष्टहरूलाई मार्नुभएको भए असल हुन्थ्यो । ए हिंस्रक मानिसहरू हो, मबाट दूर होओ ।
20तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गर्छन् र छलपूर्ण काम गर्छन् । तपाईंका शत्रुहरूले झुटा बोल्छन् ।
21हे परमप्रभु, तपाईंलाई घृणा गर्नेहरूलाई के म घृणा गर्दिनँ र? तपाईंको विरुद्धमा खडा हुनेहरूलाई के म घृणा गर्दिनँ र?
22म तिनीहरूलाई पूर्ण रूपले घृणा गर्छु । तिनीहरू मेरा शत्रुहरू भएका छन् ।