Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 16

लेवीहरू 16:13-33

Help us?
Click on verse(s) to share them!
13त्यहाँ त्यसले परमप्रभुको सामु भएको आगोमा धुप राखोस् ताकि करारको सन्दुकमाथिको प्रायश्‍चित्त-आसनलाई त्यस धुपबाट निस्‍केको बादलले ढाकोस् । त्यो नमरोस् भनेर त्यसले यो गरोस् ।
14अनि त्यसले साँढेको केही रगत लिएर प्रायश्‍चित्त-आसनको सामु आफ्नो औँलाले छर्कोस् । त्यसले प्रायश्‍चित्त-आसनको सामु औँलाले सात पटक रगत छर्कोस् ।
15त्यसपछि त्यसले मानिसहरूका निम्ति पापबलिको बोकालाई मारोस् र त्यसको रगत पर्दाभित्र ल्याओस् । त्यसले त्यहाँ साँढेको रगतलाई जे गरेको थियो, बोकाको रगतलाई पनि त्यस्‍तै गरोस्, अर्थात् त्यसले त्यो रगत प्रायश्‍चित्त-आसनमाथि र त्यसपछि प्रायश्‍चित्त-आसनको सामु छर्कोस् ।
16इस्राएलका मानिसहरूका अशुद्ध कामहरू, तिनीहरूको विद्रोह र तिनीहरूका सारा पापको कारण पवित्रस्थानको निम्ति त्यसले प्रायश्‍चित्त गरोस् । त्यसले यो भेट हुने पालको निम्ति पनि गरोस्, जहाँ तिनीहरूका अशुद्ध कामहरूका बिचमा परमप्रभु तिनीहरू माझमा बास गर्नुहुन्छ ।
17हारून महा-पवित्र स्थानमा प्रायश्‍चित्त गर्नको निम्ति प्रवेश गरेपछि त्यसले आफ्नो, आफ्नो परिवार र इस्राएलका सबै समुदायको निम्ति प्रायश्‍चित्त गर्न सकेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र नपसोस् ।
18परमप्रभुको सामु भएको वेदीको नजिक त्यो जाओस् र त्यसको निम्ति प्रायश्‍चित्त गरोस्, र साँढे र बोकाको केही रगत लिएर त्यसले वेदीका सिङहरूका चारैतिर लगाओस् ।
19त्यसले त्यसलाई शुद्ध गर्न र इस्राएलका मानिसहरूका अशुद्ध कामहरूबाट टाढा गरी परमप्रभुको निम्ति अलग्‍ग गर्नलाई त्यसमाथि आफ्नो औँलाले केही रगत सात पटक छर्कोस् ।
20त्यसले महा-पवित्र स्थान, भेट हुने पाल र वेदीको निम्ति प्रायश्‍चित्त गरेर सक्‍काएपछि त्यसको जिउँदो बोका अर्पण गरोस् ।
21हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।
22त्यस बोकाले मानिसहरूका सबै दुष्‍टतालाई आफूमाथि बोकी एउटा एकान्‍त ठाउँमा जाओस् । उता उजाड-स्थानमा त्यस मानिसले त्यो बोकालाई छोडिदिओस् ।
23त्यसपछि हारून फर्केर भेट हुने पालमा जाओस् र महा-पवित्र स्थानमा जानुअगि त्यसले लगाएका सूतीका लुगाहरू फुकालोस्, र ती लुगाहरूलाई त्यहीँ नै छोडोस् ।
24त्यसले कुनै पवित्र स्थानमा आफ्नो शरीर पानीले नुहाओस्, र आफ्ना साधारण लुगा लगाओस्, र त्यसपछि त्यो गएर आफ्ना मानिसहरूका निम्ति होमबलि अर्पण गरोस् अनि यसरी आफ्नो र मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।
25त्यसले वेदीमा पापबलिको बोसोलाई जलाओस् ।
26छोडिने बोकालाई जान दिने मानिसले आफ्ना लुगाहरू र आफ्नो शरीर पानीले धोओस्, र त्यसपछि त्यो छाउनीभित्र फर्कन सक्‍छ ।
27पापबलिको निम्ति साँढे र बोका, जसको रगत पवित्र स्थानमा प्रायश्‍चित्त गर्नका निम्ति ल्याइएको थियो, ती दुवैलाई छाउनीभन्दा बाहिर लगिओस् । त्यहाँ तिनीहरूले त्यसका छाला, मासु र गोबर जलाउने छन् ।
28ती भागहरू जलाउने मानिसले आफ्ना लुगाहरू धोओस् र आफ्नो शरीर पानीले नुहाओस्, र त्यसपछि त्यो छाउनीभित्र आउन मिल्छ ।
29यो तिमीहरूका निम्ति सधैँ एउटा विधि बनोस्, कि सातौँ महिनाको दसौँ दिनमा, तिमीहरूका बिचमा जन्मेको वा तिमीहरूका बिचमा बास गर्ने परदेशी सबैले आफैलाई नम्र बनाओस् र कुनै काम नगरोस् ।
30किनभने तिमीहरूका सबै पापबाट तिमीहरूलाई शुद्ध गर्नका निम्ति यस दिनमा तिमीहरूका खातिर प्रायश्‍चित्त गरिने छ, यसैकारण तिमीहरू परमप्रभुको अगि शुद्ध हुने छौ ।
31यो तिमीहरूका निम्ति विश्रामको विधिपूर्ण शबाथ हो, र तिमीहरूले आफैलाई नम्र बनाउनुपर्छ र कुनै काम गर्नुहुँदैन । यो तिमीहरूका बिचमा सधैँ एउटा विधि हुने छ ।
32आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।
33त्यसले महा-पवित्र स्थान, भेट हुने पाल, वेदी, पुजारीहरू र समुदायका सबै मानिसहरूका निम्ति प्रायश्‍चित्त गरोस् ।

Read लेवीहरू 16लेवीहरू 16
Compare लेवीहरू 16:13-33लेवीहरू 16:13-33