Text copied!
CopyCompare
पवित्र बाइबल - यर्मिया

यर्मिया 19

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले यसो भन्‍नुभयो, “जा र तँ मानिसहरू र पुजारीहरूका धर्म-गुरुहरूसित हुँदा कुमालेको माटोको भाँडो किन् ।
2त्यसपछि बेन-हिन्‍नोमको बेँसीमा भएको फुटेको भाँडाको ढोकामा जा र मैले तँलाई बताउने वचनहरू त्यहाँ घोषणा गर ।
3यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।
4तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् ।
5आफ्ना छोराहरू बाल देवतालाई आगोमा होमबलिको रूपमा चढाउन तिनीहरूले त्‍यसका अग्ला ठाउँहरू बनाए, यस्‍तो कुनै कुरो जुन मैले आज्ञा गरिनँ वा बताइनँ न त मेरो मनमा नै थियो ।
6त्यसकारण, यो परमप्रभुको घोषणा हो, हेर्, त्‍यस्‍ता दिनहरू आउँदैछन्, त्‍यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन-हिन्‍नोमको बेँसी भनिनेछैन, तर हत्याको बेँसी भनिनेछ ।
7यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।
8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
9तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”
10“तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे ।
11तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् ।
12मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो,
13यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
14तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”