21उनले भनिन्, “तिम्रो दाजु अदोनियाहलाई शूनम्मी अबीशग पत्नीको रूपमा देऊ ।”
22राजा सोलोमनले आफ्नी आमालाई भने, “तपाईं किन शूनम्मी अबीशगलाई अदोनियाहको लागि माग्नुहुन्छ ? तपाईं तिनको लागि किन राज्य नै माग्नुहुन्न ? किनकि तिनी मेरा दाजु हुन् । किन पुजारी अबियाथार र सरूयाहका छोरा योआबको निम्ति पनि माग्नुहुन्न ?”
23तब राजा सोलोमनले परमप्रभुको नाउँमा यसो भनी शपथ खाए, “यो बिन्तिको निम्ति अदोनियाहले आफ्नो ज्यान गुमाएनन् भने परमेश्वरले मलाई त्योभन्दा कठोर व्यवहार गरून् ।
24त्यसकारण मलाई स्थापित गर्नुहुने, मलाई मेरा पिता दाऊदको सिंहासनमा राख्नुहुने र आफ्नो प्रतिज्ञाअनुसार मेरो वंश खडा गर्नुहुने जीवित परमप्रभुको नाउँमा म भन्दछु, कि आज निश्चय नै अदोनियाह मारिने छन् ।”
25त्यसैले राजा सोलोमनले यहोयादाका छोरा बनायाहलाई पठाए, र बनायाहले अदोनियाहलाई फेला पारी मारे ।
26तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।”
27त्यसैले सोलोमनले अबियाथारलाई पुजारीको पदबाट हटाइदिए । यसरी शीलोमा बस्ने एलीका घरानाको बारेमा परमप्रभुले भन्नुभएको वचन पुरा भयो ।
28यो खबर योआबकहाँ आयो किनकि योआबले अदोनियाहलाई समर्थन गरेका थिए, यद्यपि तिनले अब्शालोमलाई भने समर्थन गरेका थिएनन् । त्यसैले योआब परमप्रभुको पालभित्र भागे, र वेदीका सिङहरू पक्रेर बसे ।
29योआब भागेर गई वेदीको छेउमा बसेका छन् भनी सोलोमनलाई बताइयो । तब सोलोमनले यहोयादाका छोरा बनायाहलाई यसो भनी पठाए, “जाऊ र तिनलाई मार ।”
30त्यसैले बनायाह परमप्रभुको पालभित्र प्रवेश गरी योआबलाई भने, “राजाले तिमीलाई बाहिर आउनू हुकुम गर्नुभएको छ ।” योआबले जवाफ दिए, “अँहँ, म यहीँ नै मर्ने छु ।” त्यसैले बनायाह राजाकहाँ फर्के र भने, “योआब वेदीमा नै मर्न चाहन्छन् ।”
31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।
32तिनले बगाएको रगतको दोष तिनकै शिरमाथि परोस् किनकि तिनले मेरा पिता दाऊदको जानकारीविनै आफूभन्दा धर्मी र उत्तम दुई जना मानिस अर्थात् इस्राएलका सेनापति नेरका छोरा अबनेर र यहूदाका सेनापति येतेरका छोरा अमासलाई आक्रमण गरी तिनीहरूलाई तरवारले मारे ।
33त्यसैले तिनीहरूको रगतको दोष सदाको निम्ति योआब र तिनका सन्तानहरूका शिरमाथि परोस् । तर दाऊद र तिनका सन्तानहरू अनि तिनको वंश र तिनको सिंहासनमा भने सदासर्वदा परमप्रभुबाट शान्ति आओस् ।”
34तब यहोयादाका छोरा बनायाह माथि उक्ले अनि योआबलाई प्रहार गरी मारे । तिनलाई उजाड-स्थानमा तिनको आफ्नै जग्गामा गाडियो ।
35राजाले तिनको ठाउँमा यहोयादाका छोरा बनायाहलाई सेनापतिमा र अबियाथारको ठाउँमा सादोकलाई पुजारीमा नियुक्त गरे ।
36त्यसपछि राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “आफ्नो निम्ति यरूशलेममा घर बनाएर त्यहीँ बस, अनि त्यहाँबाट कतै नजाऊ ।
37किनकि जुन दिन तिमी किद्रोन उपत्यका पार गरेर जान्छौ, निश्चय नै तिमी मारिने छौ भनी जान । तिम्रो रगतको दोष तिम्रै शिरमाथि पर्ने छ ।”
38त्यसैले शिमीले राजालाई भने, “तपाईंले भन्नुभएको कुरो राम्रो छ । मेरा मालिक राजाले भन्नुभएझैँ हजुरको दासले गर्ने छ ।” त्यसैले धेरै दिनसम्म शिमी यरूशलेममा नै बसे ।
39तर तिन वर्षको अन्त्यमा शिमीका दुई जना दास गातका राजा माकाका छोरा आकीशकहाँ भागेर गए । त्यसैले तिनीहरूले शिमीलाई यसो भने, “हेर्नुहोस्, तपाईंका दासहरू गातमा छन् ।”
40तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।
41शिमी यरूशलेमबाट गातमा गएर फर्केका छन् भनी जब सोलोमनलाई सुनाइयो,
42तब राजाले शिमीलाई डाक्न पठाए र तिनलाई भने, “'जुन दिन तिमी यहाँबाट अन्त कतै जान्छौ, तिमी निश्चय नै मारिने छौ भनी जान' भनी के मैले परप्रभुको नाउँमा शपथ खाई तिमीलाई गवाही दिएको थिइनँ र ? तब तिमीले मलाई भन्यौ, 'हजुरले भन्नुभएको कुरा राम्रो छ ।'