Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 15

१ राजाहरू 15:9-25

Help us?
Click on verse(s) to share them!
9इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।
10तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे । तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन् ।
11आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे ।
12तिनले देशबाट झुटो धर्मसम्बन्धी वेश्याहरूलाई निष्कासन गरे, र तिनका पुर्खाहरूले बनाएका सबै मुर्तिलाई हटाइदिए ।
13तिनले आफ्नी हजुर आमा माकालाई पनि राजमाताको पदबाट हटाए किनकि उनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन् । आसाले त्यस घिनलाग्दो मूर्तिलाई टुक्राटुक्रा पारी किद्रोन उपत्यकामा लगेर जलाइदिए ।
14तर डाँडाका थानहरू भने हटाइएनन् । तरै पनि आसाको ह्रदय तिनको जिवनकालभरि परमप्रभुप्रति पूर्ण रूपमा समर्पित थियो ।
15तिनले आफ्ना पिताद्वारा अलग गरिएका कुराहरू र तिनी आफैले बनाएर अलग गरेका सुन, चाँदीसाथै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरभित्र ल्याए ।
16आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्‍यो ।
17इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा आक्रामक रूपमा आए, र यहूदका राजा बाशाको देशमा कसैलाई प्रवेश गर्न नदिन तिनले रामामा किल्ला निर्माण गरे ।
18त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए । तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे । तिनले भने,
19“मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस् । हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु । इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून् ।”
20बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे । तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे ।
21जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए ।
22तब राजा आसाले सारा यहूदामा एउटा घोषणा गरे जसमा कोही पनि छुटेको थिएन । तिनीहरूले बाशाले रामा सहर निर्माणको लागि प्रयोग गरिरहेका ढुङ्गाहरू र काठहरू लिएर गए । तब राजा आसाले बेन्यामीनको गेबा र मिस्माको निर्माणमा ती सामग्रीहरूको प्रयोग गरे ।
23के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो ।
24त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो । तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए ।
25यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले । तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।

Read १ राजाहरू 15१ राजाहरू 15
Compare १ राजाहरू 15:9-25१ राजाहरू 15:9-25