Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 24

यहोशू 24:1-22

Help us?
Click on verse(s) to share them!
1त्यसपछि यहोशूले इस्राएलका सबै कुललाई शकेममा भेला गरे र तिनीहरूका धर्म-गुरुहरू, तिनीहरूका अगुवाहरू, तिनीहरूका न्यायकर्ताहरू र तिनीहरूका अधिकृतहरूलाई बोलाए, र तिनीहरूले आफैलाई परमेश्‍वरको सामु प्रस्तुत गरे ।
2यहोशूले सबै मानिसलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूका पुर्खा अब्राहम र नाहोरका पिता तेरह लामो समयअगि यूफ्रेटिस नदीपारि बस्थे र तिनीहरूले देवताहरू पुज्दथे ।
3तर मैले तिमीहरूका पितालाई यूफ्रेटिस पारिबाट कनानको भूमिमा ल्याएँ र त्यसलाई त्यसको छोरा इसहाकद्वारा धेरै सन्तानहरू दिएँ ।
4त्यसपछि मैले इसहाकलाई याकूब र एसाव दिएँ । मैले पहाडी देश एसावको अधीनमा दिएँ, तर याकूब र तिनका सन्तानहरू मिश्र देशतिर तल गए ।
5मैले मोशा र हारूनलाई पठाएँ, र मैले मिश्रीहरूमाथि विपत्ति ल्याएँ । त्यसपछि मैले तिमीहरूलाई ल्याएँ ।
6मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट ल्याएँ र तिमीहरू समुद्रमा आयौ । मिश्रीहरूले लाल समुद्रसम्म नै रथहरू र घोडाहरूसहित तिमीहरूको पिछा गरे ।
7जब तिमीहरूका पुर्खाहरूले परमप्रभुको पुकारा गरे, उहाँले तिमीहरू र मिश्रीहरूबिच अन्धकार राख्‍नुभयो । उहाँले समुद्रलाई तिनीहरूमाथि ल्याउनुभयो र तिनीहरूलाई ढाक्‍नुभयो । मैले मिश्रीहरूलाई गरेको कुरा तिमीहरूले देख्यौ । त्यसपछि तिमीहरू मरुभूमिमा लामो समयसम्म बस्यौ ।
8मैले तिमीहरूलाई एमोरीहरूको भूमिमा ल्याएँ, जो यर्दनपारि बस्थे । उनीहरू तिमीहरूसँग लडे र मैले तिनीहरूलाई तिमीहरूको हातमा दिएँ । तिमीहरूले तिनीहरूको भूमि अधीन गर्‍यौ र मैले तिनीहरूलाई तिमीहरूको सामु नष्‍ट गरेँ ।
9त्यसपछि मोआबका राजा सिप्‍पोरका छोरा बालाक उठे र इस्राएललाई आक्रमण गरे । तिनले तिमीहरूलाई सराप दिन बओरका छोरा बालामलाई बोलाए ।
10तर मैले बालामको कुरा सुनिनँ । वास्तवमा, तिनले तिमीहरूलाई आशिष् दिए । त्यसैले मैले तिमीहरूलाई त्यसको हातबाट छुटकारा दिएँ ।
11तिमीहरूले यर्दन तर्‍यौ र यरीहोमा आयौ । यरीहोका अगुवाहरूले एमोरीहरू, परिज्‍जीहरू, कनानीहरू, हित्तीहरू, गिर्गाशीहरू, हित्तीहरू, हिव्वीहरू र यबूसीहरूसँगै तिमीहरूसँग लडे । मैले तिमीहरूलाई तिनीहरूमाथि विजय दिएँ र तिमीहरूको नियन्त्रणमा राखेँ ।
12मैले तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाएँ, जसले उनीहरूलाई र दुई जना एमोरी राजालाई धपाए । यो तिमीहरूको तरवार वा धानुवाणले भएको थिएन ।
13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'
14परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।
15यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं ।
16मानिसहरूले जवाफ दिए र भने, “ अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ,
17किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो ।
18त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।
19तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन ।
20यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।”
21तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ ।
22त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।”

Read यहोशू 24यहोशू 24
Compare यहोशू 24:1-22यहोशू 24:1-22