6उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
7तब तिनीहरूले आफ्नो आसा परमेश्वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
8तब तिनीहरू आफ्ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्वरप्रति समर्पित र विश्वासयोग्य थिएनन् ।
9एफ्राइमीहरू धनुले सुसज्जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।
10तिनीहरूले परमेश्वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।
11तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
12मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
13उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
14दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्याउनुभयो ।
15उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
16चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
17तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
18आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए ।
19तिनीहरू परमेश्वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्वरले हामीलाई उजाड-स्थानमा साँच्चै नै खाना खुवाउन सक्नुहुन्छ र?
20हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ ?”
21जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
22किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
23तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
24तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
25मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो ।
26उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
27धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
28तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
29त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
30तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
31तब परमेश्वरको क्रोध तिनीहरूमाथि पर्यो र तिमध्येका बलियाहरूलाई मार्यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
32यति हुँदा पनि, तिनीहरूले निरन्तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन् ।
33यसकारण परमेश्वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।
34जब परमेश्वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे ।
35परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
36तर तिनीहरूले आफ्ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।
37किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिएनन् ।
38तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रिस थाम्नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
39तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
40उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
41तिनीहरूले परमेश्वरलाई धेरै पल्ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।