27यसैले कोरह, दातान र अबीरामका पाल वरिपरिका समुदायले तिनीहरूलाई छोडे । दातान र अबीराम तिनीहरूका पत्नीहरू, छोराहरू र स-साना बालबालिकाहरूसहित तिनीहरूका पालको प्रवेश-द्वारमा खडा भए ।
28मोशाले भने, “यसैद्वारा यी सबै थोक गर्न मलाई परमप्रभुले पठाउनुभएको छ भन्ने तिमीहरूले जान्नेछौ, किनभने मैले तिनीहरू मेरो आफ्नै इच्छामा गरेको छैन ।
29यदि यी मानिसहरू सामान्य रूपमा हुने स्वाभाविक मृत्युद्वारा मर्छन् भने, मलाई परमप्रभुले पठाउनुभएको होइन ।
30तर यदि परमप्रभुले कुनै नयाँ कुरा सृजना गर्नुहुन्छ, धर्तीले आफ्नो मुख उघार्छ र तिनीहरूसाथै तिनीहरूका सबै थोकलाई निल्छ, र तिनीहरू जिउँदै चिहानभित्र जान्छन् भने, यी मानिसहरूले परमप्रभुलाई तिरस्कार गरेका छन् भनी तिमीहरूले बुझ्नुपर्छ ।”
31मोशाले यी कुराहरू भनी सिद्ध्याउने बित्तिकै ती मानिसहरूमुनिको जमिन फाट्यो ।
32धर्तीले यसको मुख उघार्यो अनि तिनीहरूका परिवारहरू र कोरहसँग भएका सबै मानिसहरूसाथै तिनीहरूका सबै थोकलाई निल्यो ।
33यसैले तिनीहरू र तिनीहरूसँग भएका सबै थोक जिउँदै चिहानभित्र लगिए । धर्ती तिनीहरूमाथि बन्द भयो, र तिनीहरू समुदायबाट नष्ट भए ।
34तिनीहरूका वरिपरि भएका इस्राएलीहरू चिच्च्याउँदै भागे । तिनीहरू, “धर्तीले हामीलाई पनि निल्ने भो!” भन्दै चिच्च्याए ।
35अनि परमप्रभुबाट आगोको ज्वाला निस्क्यो र धूप बालेका २५० जना मानिसलाई नष्ट गर्यो ।