Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू

१ राजाहरू 12

Help us?
Click on verse(s) to share them!
1रहबाम शकेममा गए किनकि सारा इस्राएल तिनलाई राजा बनाउन शकेममा आउँदै थिए ।
2नबातका छोरा यारोबामले यो कुरा सुन्दा (तिनी अझैसम्म मिश्रमा नै थिए जहाँ तिनी सोलोमन राजाको उपस्थितिबाट भागेर गएका थिए) तिनी मिश्रमा नै बसेका थिए ।
3त्यसैले, तिनीहरूले यारोबामलाई बोलाइपठाए, अनि यारोबाम र इस्राएलका सारा समुदाय रहबामकहाँ आएर भने,
4“तपाईंका पिताले हाम्रो जुवा गरुङ्गो बनाइदिनुभयो । अब तपाईंका पिताले हामीमाथि राखिदिनुभएको भारी र जुवा हलुङ्गो बनाइदिनुहोस्, अनि हामी तपाईंको सेवा गर्ने छौँ ।
5रहबामले तिनीहरूलाई भने, “तपाईंहरू जानुहोस् र तिनदिनपछि फर्केर आउनुहोस् ।” त्यसैले मानिसहरू प्रस्थान गरे ।
6रहबाम राजाले आफ्ना पिता सोलोमन जीवित छँदा तिनको सामु खडा हुने पाका मानिसहरूसित सरसल्लाह लिए र भने, “यी मानिसहरूलाई जवाफ दिन तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ ?”
7तिनीहरूले तिनलाई जवाफ दिए, “आज तपाईं तिनीहरूका सेवक बनी तिनीहरूको सेवा गर्नुभयो र तिनीहरूलाई असल जवाफ दिनुभयो भने तिनीहरू सधैँ तपाईंका सेवकहरू हुने छन् ।”
8तर रहबामले यी पाका मानिसहरूले दिएको सल्लाहलाई बेवास्ता गरे, र आफूसँगै हुर्केर आफ्नो सामु खडा हुने युवाहरूसित सल्लाह लिए ।
9तिनले तिनीहरूलाई भने, “'तपाईंका पिताले हामीमाथि राखिदिनुभएको जुवा हलुको पारिदिनुहोस्' भनी बताउने मानिसहरूलाई मैले कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरू मलाई के सल्लाह दिन्छौ ?”
10आफूसँगै हुर्केका युवाहरूले रहबामलाई यसो भने, “तपाईंका पिता सोलोमनले तिनीहरूको जुवा गरुङ्गो बनाइदिनुभयो र अब तपाईंले यसलाई हलुको बनाइदिनुपर्छ भनी बताउने मानिसहरूलाई गएर यसो भन्नुहोस्, ‘मेरो कान्छी औँला मेरा पिताको कम्मरभन्दा मोटो छ ।
11त्यसैले अब मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु' ।”
12त्यसैले तेस्रो दिनमा यारोबाम र सारा मानिस रहबामकहाँ आए । किनकि राजाले यसो भनी निर्देशन दिएका थिए, “तेस्रो दिनमा मकहाँ फर्केर आओ ।”
13राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे ।
14तिनले युवाहरूको सल्लाह मानी तिनीहरूलाई भने, “मेरा पिताले तिमीहरूमाथि गरुङ्गो जुवा बोकाउनुभएको थियो । म त्यो अझै गरुङ्गो पारिदिने छु । मेरा पिताले तिमीहरूलाई कोर्रा लगाउनुभएको थियो, तर म तिमीहरूलाई बिच्छीहरूले डस्न लगाउने छु ।”
15यसरी राजाले मानिसहरूको कुरा सुनेनन् किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पुरा होस् भनेर परमप्रभुले यस्तो परिस्थिति ल्याउनुभएको थियो ।
16जब सारा इस्राएलको कुरा राजाले नसुनेको तिनीहरूले देखे तब मानिसहरूले तिनलाई जवाफ दिए, “दाऊदमा हाम्रो के हिस्सा छ र ? यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन! हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ । हे दाऊद, तिमी आफ्नै घर सम्हाल ।” यसरी इस्राएलीहरू आ-आफ्ना पालमा फर्केर गए ।
17तर रहबाम यहूदाका सहरहरूमा बस्ने इस्राएलीहरूका राजा बने ।
18तब रहबाम राजाले बेगार काममा लगाउने मानिसहरूका जिम्मावाल अदोनीरामलाई पठाए, तर सारा इस्राएलले तिनलाई ढुङ्गाले हानेर मारे । रहबाम राजा आफ्नो रथमा चढेर झट्टै यरूशलेममा भागे ।

19त्यसैले आजको दिनसम्म इस्राएल दाऊदको घरानाको विरुद्धमा बागी बनेको छ ।
20यारोबाम फर्के भनी जब सारा इस्राएलले सुने तिनीहरूको आफ्नो सभामा तिनलाई बोलाउनपठाइ तिनलाई सारा इस्राएलमाथि राजा बनाए । यहूदाको कुलबाहेक दाऊदको परिवारलाई पछ्याउने कोही भएन ।
21जब रहबाम यरूशलेममा आए तिनले यहूदाको सबै घराना र बेन्यामीन कुललाई भेला गरे । इस्राएलको घरानाको विरुद्धमा लडी सोलोमनका छोरा रहबामको राज्यलाई पुनर्स्थापित गर्न त्यहाँ १,८०,००० चुनिएका योद्धा जम्मा भएका थिए ।
22तर परमेश्वरका जन शमायाहकहाँ परमेश्वरको वचन आयो,
23“सोलोमनका छोरा यहूदाका राजा रहबाम अनि यहूदा र बेन्यामीनका सम्पूर्ण घरानासाथै बाँकी सबै मानिसलाई भन्,
24'परमप्रभु यसो भन्नुहुन्छः आफ्ना दाजुभाइ इस्राएलका मानिसहरूलाई तिमीहरूले आक्रमण नगर्नू वा तिनीहरूसित लडाइँ नगर्नू । हरेक मानिस आ-आफ्नो घरमा फर्केर जाओस् किनकि यो काम मैले गरेको हुँ' ।” त्यसैले तिनीहरूले परमप्रभुको वचन सुने र तिनीहरू फर्केर आ-आफ्नो बाटो लागे । यसरी तिनीहरूले उहाँको वचन पालन गरे ।
25तब यारोबामले एफ्राइमको पहाडी देशमा शकेमलाई मजबुत पारी तिनी त्यहीँ बसे । तिनी त्यहाँबाट गएर तिनले पनीएल सहर बनाए ।
26यारोबामले आफ्नो ह्रदयमा सोचे, “अब यो राज्य दाऊदको घरानामा फर्कने छ ।
27यी मानिसहरू यरूशलेमस्थित परमप्रभुको मन्दिरमा बलिदान चढाउन गए भने यी मानिसहरूका ह्रदय तिनीहरूका मालिक अर्थात् यहूदाका राजा रहबामकहाँ फर्कने छन् । मलाई मारेर तिनीहरू यहूदाका राजा रहबामकहाँ फर्केने छन् ।”
28यसैले राजा यारोबामले सरसल्लाह लिई सुनका दुईवटा बाछा बनाए । तिनले मानिसहरूलाई भने, “तिमीहरूलाई यरूशलेमसम्म जान निकै टाढा हुन्छ । हे इस्राएली हो, तिमीहरूलाई मिश्र देशबाट ल्याउने देवताहरू यी नै हुन् ।”
29तिनले एउटालाई बेथेलमा र अर्कोलाई दानमा राखे ।
30यसरी यही कार्य नै पाप बन्यो । मानिसहरू एक ठाउँदेखि अर्को ठाउँमा र दानसम्मै पुजा गर्न गए ।
31यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए, र तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन् ।
32आठौँ महिनाको पन्ध्रौँ दिनमा यहूदामा जस्तै यारोबामले एउटा चाड ठहराए, र तिनी वेदीमा गए । तिनले बेथेलमा आफूले बनाएका बाछाहरूका निम्ति बलिदान चढाए, र तिनले बेथेलमा आफूले बनाएका डाँडाका ठाउँहरूमा पुजारीहरू नियुक्त गरे ।
33आफ्नो मनमा योजना बनाएअनुसार आठौँ महिनाको पन्ध्रौँ दिनमा बेथेलमा आफूले निर्माण गरेको वेदीमा तिनले बलिदान चढाए । यसरी तिनले इस्राएलीहरूका निम्ति चाड ठहराए, र धूप बाल्न आफै वेदीमा उक्लेर जाने गरे ।