Text copied!
CopyCompare
पवित्र बाइबल - १ राजाहरू - १ राजाहरू 22

१ राजाहरू 22:11-26

Help us?
Click on verse(s) to share them!
11केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
12तब सबै अगमवक्ताले यसो भनी अगमवाणी बोले, “रामोत-गिलादमाथि आक्रमण गरी विजयी हुनुहोस् किनकि परमप्रभुले यो राजाको हातमा सुम्पिदिनुभएको छ ।”
13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
14मीकायले जवाफ दिए, “परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, कि परमप्रभुले मलाई जे भन्नुहुन्छ, म त्यही भन्ने छु ।”
15जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ ?”
17तब मीकायाले भने, “मैले गोठाला नभएका भेडाझैँ सारा इस्राएल पहाडहरूतिर तितर-बितर भएको देखेँ, र परमप्रभुले भन्नुभयो, 'तिनीहरूसित कुनै गोठालो छैन । हरेक मानिस शान्तिसित आफ्नै घरमा फर्कोस्' ।”
18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र ?”
19तब मीकायाले भने, “त्यसकारण परमप्रभुको वचन सुन्नुहोस्: मैले परमप्रभुलाई उहाँको सिंहासनमा विराजमान हुनुभएको अनि उहाँको दाहिने र देब्रे हातपट्टि उहाँनेर सबै स्वर्गीय सेना उभिरहेका देखेँ ।
20परमप्रभुले भन्नुभयो, 'आहाब रामोत-गिलादमा उक्लेर गई त्यहाँ त्यसको पतन होस् भन्नाका लागि त्यसलाई कसले बहकाउने छ ?’ एउटाले एउटा कुरा भन्यो र अर्कोचाहिँले अर्कै कुरा भन्यो ।
21तब एउटा आत्मा अगाडि बढी त्यो परमप्रभुको सामु उभियो । त्यसले भन्यो, 'म तिनलाई उक्साउने छु ।' परमप्रभुले त्यसलाई भन्नुभयो, 'कसरी ?’
22आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।'
23त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।”
24तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त ?”
25मीकायाले भने, “हेर, तिमी भित्र कोठामा लुक्न जाँदा त्यस दिन तिमी आफैले देख्ने छौ ।”
26इस्राएलका राजाले आफ्ना अधिकारीलाई हुकुम दिए, “मीकायालाई समात्, अनि त्यसलाई सहरका शासक र मेरो छोरा योआशकहाँ लैजा ।”

Read १ राजाहरू 22१ राजाहरू 22
Compare १ राजाहरू 22:11-26१ राजाहरू 22:11-26