Text copied!
CopyCompare
पवित्र बाइबल - यहोशू - यहोशू 10

यहोशू 10:6-39

Help us?
Click on verse(s) to share them!
6गिबोनका मानिसहरूले यहोशू र गिलगालमा भएका फौजलाई समाचार पठाए । उनीहरूले भने, “चाँडो गर्नुहोस् ! तपाईंका दासहरूबाट आफ्ना हातहरू नखिँच्‍नुहोस् । हामीकहाँ चाँडो गरी आउनुहोस् र हामीलाई बचाउनुहोस् । हामीलाई सहायता गर्नुहोस्, किनभने पहाडी देशहरूमा बस्‍ने सबै एमोरी राजा हामीलाई आक्रमण गर्न भेला भएका छन् ।”
7यहोशू, तिनी र तिनीसँग भएका युद्ध गर्ने सबै अनि लड्‍ने सबै मानिस गिलगालबाट गए ।
8परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्‍न सक्‍ने छैनन् ।
9यहशूले रातभरि यात्रा गरेर उनीहरूमाथि अचानक जाइलागे ।
10परमप्रभुले इस्राएलका सामु शत्रुहरूलाई अन्योलमा पार्नुभयो, र इस्राएलले गिबोनमा ठुलो संहारको साथ उनीहरूलाई मारे अनि उनीहरूलाई बेथ-होरोनसम्मै खेदे । तिनीहरूले आजेका र मक्‍केदाको बाटोसम्मै उनीहरूलाई मारे ।
11जब तिनीहरू इस्राएलबाट बेथ-होरोनको डाँडाको ओरालोमा झरे, परमप्रभुले स्वर्गबाट ठुला-ठुला असिनाहरू बर्साउनुभयो र उनीहरू मरे । इस्राएलका मानिसहरूले तरवारले मारेका भन्दा असिनाको कारण मरेकाहरू धैरै थिए । त्यस दिन परमप्रभुले इस्राएलका मानिसहरूलाई एमोरीहरूमाथि विजय दिनुभयो,
12अनि यहोशू परमप्रभुसँग बोले । यहोशूले इस्राएलको सामु परमप्रभुलाई यसो भने, “ए सूर्य, गिबोनमाथि र ए चन्द्र अय्यालोनको बेँसीमा अडिरह ।” जातिले तिनीहरूका शत्रुहरूमाथि बदला नलिएसम्म सूर्य अडियो र चन्द्र रोकियो । के यो याशारको पुस्तकमा लेखिएको छैन र?
13सूर्य आकाशको बिचमा रहिरह्यो; यो झण्डै पुरै दिनभरि नै अस्ताएन ।
14परमप्रभुले मानव-जातिको कुरा सुन्‍नुभयो, यसअगि र यसपछि कहिल्यै पनि यस्तो भएको छैन । किनभने परमप्रभुले इस्राएलको तर्फबाट युद्ध लडिरहनुभएको थियो ।
15यहोशू र तिनीसँग भएका सबै इस्राएली गिलगालको छाउनीमा फर्के ।
16अब पाँच जना राजा उम्केका र आफै मक्‍केदाको गुफामा लुकेका थिए ।
17यहोशूलाई यसो भनियो, “पाँच जना राजा मक्‍केदाको गुफामा लुकेको भेट्टाइए ।”
18यहोशूले भने, “गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू गुडाएर राख र उनीहरूको सुरक्षाको निम्ति सिपाहीहरू खटाओ ।
19तिमीहरूचाहिँ नबस । तिमीहरूका शत्रुहरूको पिछा गर र पछाडिबाट आक्रमण गर । उनीहरूको सहरमा पस्‍न नदेओ किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूका हातमा दिनुभएको छ ।”
20उनीहरू झण्डै पूर्ण रूपमा नष्‍ट नभएसम्म नै यहोशू र इस्राएलका सन्तानहरूले उनीहरूलाई ठुलो संहारको साथ संहार गरिसिद्ध्याएका थिए; केही बचेकाहरू मात्र उम्केर किल्ला भएको सहरमा पुगे ।
21त्यसपछि सबै फौज मक्‍केदाको छाउनीमा यहोशूकहाँ शान्तिसँग फर्के । इस्राएलका मानिसहरूका विरुद्ध कसैले एक शब्द पनि बोल्ने आँट गरेन ।
22यहोशूले भने, “गुफाको मुख खोल । गुफाबाट यी राजाहरूलाई लिएर आओ ।”
23तिनीहरूले तिनले भनेझैँ गरे । तिनीहरूले यरूशलेमका राजा, हेब्रोनका राजा, यार्मूतका राजा, लाकीशका राजा र एग्लोनका राजा अर्थात् यी पाँच जना राजालाई गुफाबाट बाहिर ल्याए ।
24जब तिनीहरूले राजाहरूलाई यहोशूकहाँ ल्याए, तिनले इस्राएलका सबै मानिसलाई बोलाए । तिनले तिनीसँग युद्धमा जाने सेनाहरूका सेनापतिहरूलाई भने, “उनीहरूको गर्दनमा तिमीहरूको खुट्टाले टेक ।” त्यसैले तिनीहरू आए र उनीहरूका गर्दनमाथि तिनीहरूका खुट्टाले टेके ।
25अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”
26अनि यहोशूले आक्रमण गरी राजाहरूलाई मारे । तिनले उनीहरूलाई पाँचवटा रुखमा झुण्ड्याए । तिनीहरूले उनीहरूलाई साँझसम्म झुण्ड्याए ।
27घाम अस्ताउँदा यहोशूले आज्ञा दिए र तिनीहरूले उनीहरूलाई रुखबाट तल झारे अनि उनीहरू लुकेका गुफाभित्र नै उनीहरूलाई फ्याँकिदिए । तिनीहरूले गुफाको मुखमा ठुला-ठुला ढुङ्गाहरू राखे । ती ढुङ्गाहरू आजसम्म पनि छन् ।
28यसरी, यहोशूले त्यस दिन मक्‍केदा कब्जा गरे र यसका राजासहित त्यहाँ भएका सबैलाई तरवारले मारे । तिनले यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनले कसैलाई पनि जीवित छोडेनन् । तिनले मक्‍केदाका राजालाई यरीहोका राजालाई झैँ गरे ।
29यहोशू र सारा इस्राएल मक्‍केदाबाट लिब्‍नातिर गए । तिनले लिब्‍नाविरुद्ध लडे ।
30परमप्रभुले यसलाई उनीहरूका राजासहित इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनले यसमा कसैलाई जीवित छाडेनन् । तिनले यसका राजालाई यरीहोका राजालाई झैँ गरे ।
31यहोशू र तिनीसँग भएका सबै इस्राएल लिब्‍नाबाट लाकीशतिर अगि बढे । तिनले यसको नजिकै छाउनी हाले र यसविरुद्ध लडे ।
32परमप्रभुले लाकीशलाई इस्राएलको हातमा दिनुभयो । यहोशूले यसलाई दोस्रो दिनमा कब्जा गरे र तिनले लिब्‍नालाई गरेजस्तै यसलाई र यसमा भएका सबैलाई तरवारले प्रहार गरे ।
33त्यसपछि गेजेरका राजा होराम लाकीशलाई सहायता गर्न आए । यहोशूले उनलाई र उनीसँग भएका फौजलाई एक जना पनि जीवित नराखी आक्रमण गरे ।
34त्यसपछि यहोशू र सारा इस्राएल लाकीशबाट एग्लोनतिर अगि बढे । तिनीहरूले यसको नजिकै छाउनी हाले र यसविरुद्ध युद्ध गरे,
35र त्यसै दिन यसलाई कब्जा गरे । तिनीहरूले यसलाई तरवारले प्रहार गरे र यहोशूले लाकीशलाई गरे झैँ यसमा भएका सबैलाई पूर्ण रूपमा नष्‍ट पारे ।
36त्यसपछि यहोशू र सारा इस्राएल एग्लोनबाट हेब्रोनतिर अगि बढे । तिनीहरूले यसविरुद्ध युद्ध गरे ।
37तिनीहरूले यसलाई, यसका राजा, यसका गाउँहरू र यसमा भएका सबैलाई तरवारले प्रहार गरे । तिनीहरूले यसमा कसैलाई जीवित छाडेनन् । तिनीहरूले एग्‍लोनलाई जे गरेका थिए, तिनीहरूले यसलाई र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे ।
38त्यसपछि यहोशू र तिनीसँग भएका सबै फौज फर्के र तिनीहरू दबीरतिर लागे र यसविरुद्ध युद्ध गरे ।
39तिनीहरूले यसलाई, यसका राजा र यस नजिकका सबै गाउँलाई कब्जा गरे । तिनीहरूले उनीहरूलाई तरवारले प्रहार गरे र यसमा भएका हरेकलाई पूर्ण रूपमा नष्‍ट पारे । तिनीहरूले कसैलाई पनि जीवित छाडेनन् । तिनीहरूले लिब्‍नालाई र यसका राजालाई र हेब्रोनलाई गरेझैँ दबीरलाई पनि गरे ।

Read यहोशू 10यहोशू 10
Compare यहोशू 10:6-39यहोशू 10:6-39