13किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।
14एउटा गुँडबाट झैं, मेरा हातले जातिहरूका सम्पत्ति समातेको छ, र छोडिएको अण्डाहरू कसैले बटुलेझैं, मैले सारा पृथ्वीलाई बटुलेको छु । कसैले पनि आफ्ना पखेटाहरू चलाएनन् वा आफ्ना मुख खोलेनन् वा चिरबिर आवाज निकालेनन् ।”
15के बन्चरोले आफूलाई चलाउने विरुद्ध आफैमा घमण्ड गर्नेछ र? के आराले आफूलाई चलाएर काट्नेलाई भन्दा आफ्नै प्रशंसा गर्नेछ र? यो त लट्ठी उचल्नेलाई लट्ठीले नै उचालेको जस्तो भयो, वा लहुरोले एक जना व्यक्तिलाई उचालेको जस्तो भयो ।
16यसकारण सर्वशक्तिमान् परमप्रभुले उसका कुलिन योद्धाहरू माझ रूढी पठाउनुहुनेछ । अनि उहाँको महिमाको मुनि आगोजस्तै जलन दन्काइनेछ ।
17इस्राएलको प्रकाश आगो बन्नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्नुहुनेछ । त्यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्ट पार्नेछ ।
18त्यसको जङ्गलको गौरव र त्यसको फलवन्त भूमिको प्राण र शरीर दुवैलाई परमप्रभुले नष्ट पार्नुहुनेछ । यो बिरामीको शरीर गलेको जस्तो हुनेछ ।
19त्यसको जङ्गलमा रहेका रूखहरू अति थोर बाँकी हुनेछन्, जसलाई एक जना बालकले पनि गन्न सक्छ ।
20त्यस दिन इस्राएलका बाँकी, उम्केका याकूबका घरानाले आफूलाई पराजित गर्नेमाथि भर पर्ने छैनन्, तर तिनीहरू साँच्चै इस्राएलका परमपवित्र परमप्रभुमा भर पर्नेछन् ।
21याकूबका बाँकी रहेकाहरू शक्तिशाली परमेश्वरकहाँ फर्कनेछन् ।
22किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
23निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।