1हे इस्राएलका गोठालो, ध्यान दिनुहोस् । तपाईं जसले योसेफलाई बगालझैं डोर्याउनुहुन्छ । तपाईं जो करूबहरूभन्दा माथि विराजमान हुनुहुन्छ, हामीमाथि चम्कनुहोस् ।
2एफ्राइम, बेन्यामीन र मनश्शेको दृष्टिमा तपाईंको शक्ति चलाउनुहोस् । आउनुहोस् र हामीलाई बचाउनुहोस् ।
3हे परमेश्वर, हामीलाई पुनर्स्थापित गर्नुहोस् । हामीमाथि तपाईंको मुहार चम्काउनुहोस् र हामी बाँचाइनेछौं ।
4हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका मानिसहरूले प्रार्थना गर्दा तपाईं कहिलेसम्म तिनीहरूसँग रिसाउनुहुनेछ ?
5तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ र तिनीहरूलाई अति धेरै आँशु पिउन दिनुभएको छ ।
6हाम्रा छिमेकीहरूलाई बहस गर्न तपाईंले हामीलाई त्यस्तो केही बनाउनुहुन्छ र हाम्रा शत्रुहरू आफ्ना माझमा हाम्रो बारेमा हाँसो गर्छन् ।
7हे सर्वशक्तिमान् परमप्रभु, हामीलाई पुनर्स्थापना गर्नुहोस् । आफ्नो मुहार हामीमाथि चम्काउनुहोस् र हामी बचाइनेछौं ।
8तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो । तपाईंले जातिहरूलाई धपाउनुभयो र त्यसलाई रोप्नुभयो ।
9तपाईंले त्यसको निम्ति देशलाई सफा पार्नुभयो । त्यसले जरा हाल्यो र देशमा भरियो ।
10त्यसको छायाले पहाडहरूलाई, त्यसका हाँगाहरूले परमेश्वरका देवदारुहरूलाई ढाक्यो ।
11यसले आफ्ना हाँगाहरू समुद्रसम्म र आफ्ना जराहरू यूफ्रेटिस नदीसम्समै फैलायो ।
12तपाईंले किन यसको पर्खाल भत्काउनुभएको छ ताकि यो बाटो भएर जाने सबैले यसको फल टिपून्?
13वनका बँदेहरूले यसलाई बिगार्छन् र मैदानका पशुहरूले यसमा चर्छन् ।
14हे सर्वशक्तिमान् परमेश्वर, फर्कनुहोस् । स्वर्गबाट तल हेर्नुहोस् र ध्यान दिनुहोस् र यो दाखको रेखदेख गर्नुहोस् ।
15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।