19मेरो हप्की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।
20हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ ।
21खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।
22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्यो नै पासो बनोस् ।
23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।
24तिनीहरूमाथि आफ्नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।
25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।
26किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्याए ।
27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।
28तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।
29तर म गरीब र दुःखी छु । हे परमेश्वर, तपाईंको उद्धारले मलाई उच्च स्थानमा बसालोस् ।
30गीत गाउँदै म परमश्वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्च पार्नेछु ।
31सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्यसले परमप्रभु खुसी पार्नेछ ।
32नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् ।
33किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्ना कैदीहरूलाई घृणा गर्नुहुन्न ।
34स्वर्ग र पृथ्वी, समुद्र र त्यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।
35किनभने परमेश्वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।
36उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्नेछन् ।