Text copied!
CopyCompare
पवित्र बाइबल - उत्पत्ति

उत्पत्ति 50

Help us?
Click on verse(s) to share them!
1तब योसेफ यति व्याकुल भए कि तिनी आफ्‍ना बुबाको अनुहारमाथि घोप्‍टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
2तब योसेफले आफ्‍नो सेवामा हुने वैद्यहरूलाई आफ्‍ना पिताको लाशमा सुगन्‍धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्‍धित लेप दले ।
3यसको निम्‍ति चालिस दिन लागेको थियो, किनकि सुगन्‍धित लेप लगाउँदा लाग्‍ने पुरा समय यति नै थियो । तिनको निम्‍ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
4शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
6फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”
7योसेफ आफ्‍ना बुबालाई गाड्‌न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्‍य मानिसहरू, साथै
8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्‍चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
9तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्‍यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्‍यहाँ योसेफले सात दिनसम्‍म आफ्‍ना बुबाको निम्‍ति शोक गरे ।
11त्‍यस देशका बासिन्‍दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्‍यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्‍यो यर्दन पारिपट्टि छ ।
12यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
13तिनका छोराहरूले तिनलाई कनानसम्‍मै पुर्‍याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात्‌ मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
14आफ्‍ना बुबालाई गाडिसकेपछि आफ्‍ना दाजुभाइहरू र आफ्‍ना बुबालाई गाड्‌न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
15बुबाको मृत्‍यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, “शायद अब योसेफले हामीसँग दुश्‍मनी गरेर हामीले तिनलाई गरेका सबै खराबीको बदला लिए भने?”
16यसैकारण उनीहरूले यसो भनेर योसेफकहाँ खबर पठाए, “मर्नुभन्‍दा अगि तपाईंका बुबाले यस्‍तो आज्ञा दिनुभएको थियो
17‘तिमीहरूले योसेफलाई यसो भन, कृपा गरी तिम्रा दाजुहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर’ ।” “अब बिन्‍ती छ, कृपा गरी तपाईंका बुबाका परमेश्‍वरका दासहरूलाई क्षमा गर्नुहोस्‌ ।” उनीहरूले यति भनेपछि योसेफ रोए ।
18तिनका दाजुहरू पनि आएर तिनका सामुन्‍ने घोप्‍टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”

19तर योसेफले उनीहरूलाई भने, “नडराउनुहोस् । के म परमेश्‍वरको स्‍थानमा छु र?
20तपाईंहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गर्नुभयो, तर परमेश्‍वरले त्यसैद्वारा भलाइ गर्ने विचार गर्नुभयो, धेरै मानिसहरूलाई बचाउनको निम्ति, जुन तपाईंहरूले आज देख्‍नुहुन्छ ।
21यसकारण नडराउनुहोस्, तपाईंहरू र तपाईंहरूका बालबच्‍चालाई चाहिने कुराको बन्दोबस्त म गर्नेछु ।” यसरी तिनले उनीहरूलाई ढाडस दिए र तिनीहरूसँग विनम्रतासँग बोले ।
22योसेफ तिनका बुबाका परिवारहरूसँगै मिश्रमा बसे । तिनी एक सय दस वर्ष बाँचे ।
23योसेफले एफ्राइमको पनातिसम्‍म पनि देखे । तिनले मनश्‍शेका छोरा माकीरका भर्खर जन्‍मेका बालबच्‍चा पनि देखे, र तिनीहरू योसेफकै घुँडामा राखिए ।
24तब योसेफले आफ्‍ना दाजुभाइहरूलाई भने, “मेरो मर्ने बेला भयो, तर परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ, र उहाँले अब्राहाम, इसहाक र याकूबसित शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशमा यस देशबाट तिमीहरूलाई निकालेर लैजानुहुनेछ ।”
25अनि योसेफले इस्राएलका मानिसहरूलाई शपथ खान लगाए । उनले भने, “परमेश्‍वर अवश्यनै तिमीहरूकहाँ आउनुहुनेछ। त्‍यो बेला तिमीहरूले मेरा अस्‍थिहरू यहाँबाट लैजानू ।”
26यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्‍धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।