1यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्ना दुई छोरा मनश्शे र एफ्राइमलाई आफ्नो साथमा ल्याए ।
2जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्” भन्ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
3याकूबले योसेफलाई भने, “सर्वशक्तिमान् परमेश्वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
4र भन्नुभयो, 'हेर, म तँलाई फल्दो-फुल्दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्पन्न गर्नेछु । म यो देश अनन्त अधिकारको रूपमा तेरा सन्तानलाई दिनेछु ।’
5अब म मिश्रमा आउनअगि मिश्रमा जन्मेका तेरा यी दुई जना छोराहरू मेरै हुन् । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्शे मेरै हुनेछन् ।
6तिनीहरूभन्दा पछि जन्मेका सन्तानहरूचाहिँ तेरा हुनेछन् । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
7म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात् बेथलेहेम जाने बाटोमा गाडेँ ।”
8योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्?”
9योसेफले आफ्ना बुबालाई भने, “यिनीहरू परमेश्वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन् ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
10त्यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्वाइँ खाएर अँगालो हाले ।
11इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्वरले तेरा सन्तान पनि देख्न दिनुभयो ।”
12तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्टेर दण्डवत् गरे ।
13योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्शेलाई आफ्नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्याए ।
14इस्राएलले आफ्नो दाहिने हात पसारेर कान्छा एफ्राइमको टाउकोमा र आफ्नो देब्रे हात मनश्शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
15इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्वरको सामुन्ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्वरले मेरो जीवनभरि आजसम्म मेरो वास्ता गर्नुभएको छ,
16ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
17जब योसेफले तिनका बुबाले आफ्ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्शेको टाउकोमा राख्न भनी तिनका बुबाको हात उठाए ।
18योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस् ।”
19तर तिनका बुबाले अस्वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्दा महान् हुनेछ, र त्यसका सन्तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
20इस्राएलले तिनीहरूलाई त्यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्तो आशीर्वाद दिनेछन्, ‘परमेश्वरले तँलाई एफ्राइम र मनश्शेजस्तै बनाऊन्’।” यसरी तिनले मनश्शेभन्दा एफ्राइमलाई नै अगाडि राखे ।
21इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
22त्यसबाहेक तेरा दाजुभाइहरूभन्दा तँमाथि भएकोले मैले आफ्नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”