Text copied!
CopyCompare
पवित्र बाइबल - उत्पत्ति

उत्पत्ति 12

Help us?
Click on verse(s) to share them!
1परमप्रभुले अब्रामलाई भन्‍नुभयो, “तेरो देश, तेरा नातेदारहरू र तेरो पिताको घरानाबाट मैले तँलाई देखाउने मुलुकतिर जा ।
2म तँलाई ठुलो जाति बनाउनेछु, म तँलाई आशिष् दिनेछु, तेरो नाउँ महान् हुनेछ र तँ आशिष् हुनेछस् ।
3तँलाई आशिष् दिनेलाई म आशिष् दिनेछु, तर तँलाई अनादर गर्नेलाई म सराप दिनेछु । तँद्वारा नै पृथ्वीका सबै परिवारहरूले आशिष् पाउनेछन् ।
4यसैले परमप्रभुले भन्‍नुभएबमोजिम अब्राम गए र लोत पनि तिनीसँगै गए । हारान छोडेर जाँदा अब्राम पचहत्तर वर्षका थिए ।
5अब्रामले तिनकी पत्‍नी साराई, तिनका भतिजा लोत, तिनीहरूले हारानमा जम्‍मा गरेका सम्पत्ति र प्राप्‍त गरेका मानिसहरू सबै लगे । तिनीहरू कनानको भूमिमा जानलाई हिँडे र कनानको भूमिमा आइपुगे ।
6अब्राम त्यो भूमि हुँदै शकेममा भएको मोरेको फलाँटको रुखसम्म गए । त्यस बेला त्यो भूमिमा कनानीहरू बस्थे ।
7परमप्रभु अब्रामकहाँ देखा पर्नुभयो र भन्‍नुभयो, “यो भूमि म तेरा सन्तानहरूलाई दिनेछु ।” यसैले अब्रामले तिनीकहाँ देखा पर्नुहुने परमप्रभुको निम्ति एउटा वेदी बनाए ।
8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्‍चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
9अनि अब्राम यात्रा गर्दै नेगेवतिर गए ।
10त्यो भूमिमा अनिकाल लागेको थियो, यसैले अब्राम बस्‍नलाई मिश्रतिर झरे (गए), किनकि त्यो भूमिमा निकै अनिकाल लागेको थियो ।
11तिनी मिश्र प्रवेश गर्न लाग्दा, तिनले आफ्‍नी पत्‍नी साराईलाई भने, “हेर, तिमी कति सुन्दरी स्‍त्री छौ भनी म जान्दछु ।
12मिश्रीहरूले तिमीलाई देख्‍दा 'यो यसकी पत्‍नी हो' भन्‍ने छन् र तिनीहरूले मलाई मार्ने छन्, तर तिनीहरूले तिमीलाईचाहिँ जीवितै राख्‍नेछन् ।
13यसैले तिमी मेरी बहिनी हौ भनी तिमीले भन, ताकि तिम्रो खातिर मेरो भलो होस् र तिम्रो खातिर मेरो जीवन बाँचोस् ।
14मिश्र प्रवेश गर्न लग्दा साराई अति सुन्दरी थिइन् भनी मिश्रीहरूले देखे ।
15फारोका अधिकारीहरूले तिनलाई देखे र फारोको सामु तिनको प्रशंसा गरे र ती स्‍त्रीलाई फारोको घरानामा लगियो ।
16फारोले तिनको खातिर अब्रामलाई राम्रो व्यवहार गरे र तिनलाई गोरु, गधाहरू, नोकरीहरू, गधैनीहरू र ऊँटहरू दिए ।
17अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।
18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?

19'तिनी मेरी बहिनी हुन्' भनी तिमीले किन मलाई भन्यौ? त्यसैले मैले तिनलाई मेरी पत्‍नी बनाउन मैले लगेँ । यसकारण, तिम्रो पत्‍नी यहीँ छिन् । तिनलाई लेऊ र आफ्‍नो बाटो लाग ।
20अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।