Text copied!
CopyCompare
पवित्र बाइबल - उत्पत्ति

उत्पत्ति 22

Help us?
Click on verse(s) to share them!
1यी कुराहरूपछि परमेश्‍वरले अब्राहामको जाँच गर्नुभयो । उहाँले तिनलाई भन्‍नुभयो, “ए अब्राहाम!” अब्राहमले भने, “म यहीँ छु ।”
2त्यसपछि परमेश्‍वरले भन्‍नुभयो, “तैँले माया गर्ने तेरो छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा जा । त्यहाँको कुनै एक डाँडामा त्यसलाई होमबलि गर्‌, जुन म तँलाई बताउनेछु ।”
3त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।
4तेस्रो दिन अब्राहामले माथि हेरे र टाढा त्‍यो ठाउँ देखे ।
5अब्राहामले आफ्‍ना जवान मानिसहरूलाई भने, “तिमीहरू गधासँग यहीँ बस, अनि म र यो केटो त्यहाँ जानेछौँ । हामी पूजा गर्नेछौँ र तिमीहरूकहाँ फेरि फर्केर आउनेछौँ ।”
6त्यसपछि अब्राहामले होमबलिको निम्ति दाउरा लिए र आफ्‍नो छोरो इसहाकलाई बोकाए । उनले आगो र छुरी आफ्‍नो हातमा लिए अनि ती दुवै जना सँगसँगै गए ।
7इसहाकले आफ्‍ना पिता अब्राहामलाई भने, “बुबा,” अनि तिनले भने, “म यहीँ छु, मेरो छोरा ।” त्‍यसले भन्‍यो, “आगो र दाउरा त यहाँ छन्, तर होमबलिको लागि थुमाचाहिँ खोइ?”
8अब्राहामले भने, “मेरो छोरा, परमेश्‍वरले नै होमबलिको निम्‍ति थुमा जुटाइदिनुहुनेछ ।” अनि ती दुवै सँगसँगै गए ।
9परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा पुगेपछि अब्राहामले त्‍यहाँ एउटा वेदी बनाएर दाउरा राखे । त्‍यसपछि तिनले आफ्‍नो छोरो इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे ।
10अब्राहामले आफ्‍नो छोरालाई मार्न छुरी उठाए ।
11त्यसपछि परमप्रभुका एक जना दूतले स्‍वर्गबाट तिनलाई भने, “ए अब्राहाम, अब्राहाम!” तिनले भने, “म यहीँ छु ।”
12उनले भने, “तेरो हात त्‍यस केटामाथि नउठा, न त त्‍यसलाई केही गर, आफ्‍नो एक मात्र छोरालाई पनि मबाट तैंले रोकेर राखिनस्‌ भन्‍ने देखेर तैँले परमेश्‍वरको भय मान्दोरहेछस् भनी मैले अब थाहा पाएँ
13।” अब्राहामले माथितिर हेरे र एउटा भेडा झाडीमा सीङ अल्‍झेर फसेको देखे । अब्राहामले गएर त्‍यस भेडालाई ल्‍याए, र तिनका छोराको सट्टामा त्‍यसैलाई होमबलि चढाए ।
14यसकारण अब्राहामले त्‍यस ठाउँको नाउँ “परमप्रभुले जुटाउनुहुन्‍छ” राखे, र “परमप्रभुको डाँडामा जुटाइनेछ” भनी आजसम्म पनि भनिन्‍छ ।
15परमप्रभुका दूतले दोस्रो पल्‍ट स्‍वर्गबाट अब्राहामलाई बोलाएर भने,
16यो परमप्रभुको घोषणा हो, “मैले आफ्‍नै नाउँमा शपथ खाएको छु, कि तैंले यो काम गरेकोले र तेरो छोरो, अर्थात्‌ तेरो एउटै छोरालाई पनि मबाट नरोकेकोले
17म निश्‍चय नै तँलाई आशिष्‌ दिनेछु र म तेरा सन्‍तानको वृद्धि गरेर आकाशका तारा र समुद्र किनारका बालुवासरह तुल्‍याउनेछु । तेरा सन्‍तानले आफ्‍ना शत्रुहरूका ढोकाहरू पार गर्नेछन्‌ ।
18तेरा सन्‍तानद्वारा पृथ्‍वीका सबै जातिहरू आशिषित्् हुनेछन्, किनकि तैंले मेरो वचन पालन गरिस्‌ ।”

19त्‍यसैले अब्राहाम आफ्‍ना जवान मानिसहरूकहाँ फर्केर आए, र तिनीहरू बेर्शेबासम्‍म सँगसँगै गए, अनि उनी बेर्शेबामा बसोबास गरे ।
20यी कुराहरू भएको केही समयपछि “मिल्‍काले पनि तपाईंका भाइ नाहोरबाट छोराहरू जन्‍माइन्‌” भन्‍ने कुरा अब्राहामले सुने ।
21तिनीहरू जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,
22र केसेद, हजो, पिलदाश, यिदलाप र बतूएल थिए ।
23बतूएल रिबेकाका पिता भए । अब्राहामका भाइ नाहोरबाट मिल्‍काले जन्माएका आठ छोराहररू यी नै थिए ।
24यीबाहेक रूमा नाउँ भएकी तिनकी भित्रिनीले पनि तेबह, गहम, तहस र माकालाई जन्‍माई ।