Text copied!
CopyCompare
पवित्र बाइबल - लेवीहरू - लेवीहरू 8

लेवीहरू 8:12-30

Help us?
Click on verse(s) to share them!
12उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।
13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।
14मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे ।
15उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।
16मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए ।
17तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए ।
18मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
19उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।
20उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।
21उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।
22अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।
23हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।
24उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।
25उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।
26परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे ।
27उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।
28त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।
29मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।
30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

Read लेवीहरू 8लेवीहरू 8
Compare लेवीहरू 8:12-30लेवीहरू 8:12-30